काठमाण्डौ : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको हो ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमिकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा इन्ल्याण्ड क्लियरेन्स डिपो÷एकीकृत चेक पोष्ट र अरनिको राजमार्गको निर्माण तथा मर्मत सम्भारका लागि सम्भाव्यता अध्ययन गर्न प्राप्त पत्रहरुमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थमन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल संस्कृत विश्वविद्यालयको नाममा विभिन्न ठाउँमा रहेका तथा विश्वविद्यालयले प्राप्त गर्नुपर्ने जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा छानबिन एवं भवनलगायत अन्य अचल सम्पत्तिको खोज तथा लगत संकलन, संरक्षण, उपयोग, व्यवस्थापन र आवश्यक अन्य कार्यको लागि अध्ययन गरी ठोस प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने बैठकले निर्णय गरेको छ ।