
एक महिना अघि मै कैलालीको गोदावरी नगरपालिकाकी एक किशोरी सामूहिक करणीको सिकार बनिन् । एक जना प्रेमीको चक्करमा परेर उनी रातिको समयमा सामूहिक करणीमा परेको खुलेको छ । सामूहिक करणीमा संलग्न तीन जना पक्राउ परिसकेका छन् । यस प्रकारको घटना कैलालीमा पछिल्लो समय एकपछि अर्को बढ्न थालेको छ ।


जिल्लामा १२ महिनाको अवधिमा १ सय ६४ महिला जबरजस्ती करणीको सिकार बनेका जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । जबरजस्ती करणीमा परेको भन्दै पछिल्लो समय पीडक विरुद्ध जिल्ला अदालत कैलालीमा यस प्रकारका मुद्दा दर्ता गराउने पीडितको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा १ सय ६४ महिलाले जबरजस्ती करणीमा परेको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा नै दायर गरेको पाइएको छ । यसका साथै अदालतमा ३८ मुद्दा जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन् । यस प्रकारको मुद्दा दर्ता गराउनेमा विवाहितदेखि किशोरीसम्मै रहेको पाइएको छ ।
जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगमा वर्षेनी प्रहरी कार्यालय हुँदै अदालतमा मुद्दा दर्ता हुने क्रम बढ्दो छ । गत आर्थिक वर्ष जिल्ला अदालतमा दर्ता भएका १ सय ६४ जबरजस्ती करणीका मुद्दामध्ये ११८ मुद्दाको अन्तिम सुनवाई भइसकेको छ । बाँकी ४६ मुद्दाको सुनुवाइ हुने बाँकी नै रहेको जिल्ला अदालत कैलालीले बताएको छ ।

गत आर्थिक वर्ष हाडनाता करणीका सात, जबरजस्ती करणी उद्योगका ३८, बाल यौन दुरुपयोगका १९ मुद्दा दर्ता भएका थिए । जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणि लामिछानेले बल प्रयोग गरेर इच्छा विपरीत गरेको कार्यलाई जबरजस्ती करणीको रुपमा लिने गरिएको बताए । महिलाहरूप्रति समाज असहिष्णु भएका कारण यस्ता घटनाहरू बढ्दै गएको प्रहरी अधिकृतहरू बताउँछन् ।

समाजले पीडकहरूलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरू बढ्दै गएको पाइएको छ । समाजमा अहिले पनि जबरजस्ती करणीका घटनाहरू मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरूको मनोबल बढेको देखिएको छ । पीडितका परिवारले पनि आफ्नो इज्जतसँग जोड्ने र कानुनको दायरामा आउनुभन्दा मिलापत्रमै गरेर टुङ्ग्याउने गरेका कारण पनि यस्तो समस्या बढ्न गएको कतिपयको तर्क छ ।

