कैलालीको घोडाघोडी नगरपालिकामा सडक कालोपत्रेकाे काम अलपत्र परेको छ। कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक कालोपत्रेकोे काम अलपत्रमा परेको हो।
के एस टेडी मणिलेक जोइन्ट भेन्चर धनगढीले घोडाघोडी नगरपालिका वडा न ५ को डोके बजार देखि राष्ट्रिय माध्यमिक विद्यालय देवकलिया सम्मको सडक लगायत नगरपालिका भित्रका ४ ओटा सडक १२ महिना अर्थात् २०७९ माघ २३ गते भित्र कालोपत्रे सम्पन्न गरि सक्ने गरी २०७८ माघ २३ गते २ करोड ४१ लाख ३५ हजार १ सय ८५ रुपैयाँ ४८ पैसामा नगरपालिका संग सम्झौता गरेको थियो । तर हाल सम्म सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । सोही सम्झौता अन्तर्गत सडक कालोपत्रे कार्य गर्न नसके पछि निर्माण कम्पनीले म्याद थप गरेको छ।
सडक कालोपत्रेको सम्झौता भएको लामो समय सम्म सडक अस्तव्यस्त हुँदा स्थानीयहरुले दिनहुँ अनेकौं समस्या झेलि रहनु परेको छ। यहि असार ४ गते नगर प्रमुख सहितका जनप्रतिनिधिहरू संगको छलफलमा निर्माण कम्पनीले अबको ३ दिन भित्र काम सुरु गर्ने बताए पनि अहिले सम्म कुनै काम नभएको वडा नं ५ का स्थानिय गणेश बहादुर चन्दले बताए। जनताको व्यापक जनगुनासोलाई मध्यनजर गर्दै निर्माण कम्पनी लाई यथाशीघ्र सम्पर्कमा ल्याई सम्झौता अनुसार काम सुचारुका लागि आवश्यक सहजीकरण गरि दिन स्थानियहरुले आग्रह गरेको छन्।
के एस टेडी मणिलेक जोइन्ट भेन्चर कम्पनीका सञ्चालक सिद्ध ओली लाई कार्य सुचारुका लागि पटक-पटक ताकेता गर्दा समेत काम सुरु नभएको र अबको असोज कार्तिक महिना सम्म पनि काम सुरु नगरे अन्य प्रक्रियाहरू अघि वढाउने वडा नं ५ का वडाध्यक्ष लोक बहादुर चन्दले बताए । घोडाघोडी नगरपालिकामा सडक कालोपत्रेको जिम्मा पाएको निर्माण कम्पनीको लापरबाही, ढिलासुस्तीले काम समयमै सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। पछिल्लो पटक थप भएको समयमा पनि काम सुरु नगरे कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाउने नगर प्रवक्ता धनश्याम ओझाले बताए। निर्माण कम्पनीले समयमै कालोपत्रेको काम हुन नसक्दा गर्मीमा धुलाम्य र बर्खायाममा हिलाम्य हुँदा वडावासी आक्रोशित बन्ने गरेका छन् ।
यता के एस टेडी मणिलेक जोइन्ट भेन्चरका सञ्चालक ओली भने अब चाँडै कालोपत्रेको काम सुचारु गर्ने बताउदैं आएका छन्। पछिल्लो पटक भने उनी सम्पर्कमै आएका छैनन्। सडक कालोपत्रेकोे सम्झौता भएको लामो समय बिति सक्दा पनि कुनै काम नभएकोले थप गरेको समयमा पनि सडक कालोपत्रे हुनेमा स्थानियहरु भने विश्वस्त छैनन्। के एस टेडी मणिलेक जोइन्ट भेन्चर कम्पनीले घोडाघोडी नगरपालिका सिमथरी देखि माघी होमस्टे सडक, पहलमानपुरको डिभिजन वन कार्यालय हुदै जाने सडक र सुखड – लठुवा सडक यसै गरि अस्तव्यस्त बनाएको छ।


