काठमाण्डौ : त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्यवस्था गर्ने भएको छ । स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको हो।

अघिल्लो तीन वर्षको परीक्षा उत्तीर्ण गरिसकेको विद्यार्थीले चौथो वर्षमा एक वा दुई विषय छिचोल्न नसक्दा एक वर्ष पर्खिन नपरोस् र विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले बताए। आगामी वर्ष देखि लागू हुने गरी प्राज्ञिक परिषद्ले यस्तो निर्णय गरेको उनले जानकारी दिएका छन् । उनका अनुसार त्रिविले त्यस्ता विद्यार्थीका लागि चौथो वर्षको नतिजा आएको एक महिना भित्र मौका अथवा पूरक परीक्षा सञ्चालन हुने भएको छ।
अहिले सम्म सेमेष्टर प्रणालीमा मात्रै मौका परीक्षा दिन पाउने व्यवस्था रहेको छ । स्नातक तहमा मात्रै भएको वार्षिक कार्यक्रमको अन्तिम वर्षमा एक वा दुई मात्रै विषयमा अनुतीर्ण हुँदा विद्यार्थी मर्कामा परिरहेकाले उनीहरुको सहजताको लागि निर्णय गरेको रजिष्ट्रार रिजाल बताए ।



