
धनगढी : कैलालीको गोदावरी नगरपालिका–५ सुनीखोलामा एउटा पुल निर्माण भैरहेको छ । उक्त निर्माणाधिन पुलको समयावधी २०८० असारमा सम्पन्न भैसकेको छ । तर उक्त पुल निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले भने काम हाल सम्म पनि सम्पन्न गर्न सकेको छैन् । उसले ३ करोड ७७ लाखको लागतमा पुल निर्माणको ठेक्का पाएको थियो ।


गत वर्षको असारमा पुल निर्माणका लागि गरेको सम्झौता सकिएको छ । तर, सुनीखोला पुल निर्माणको काम ८५ प्रतिशत मात्र पूरा भएको छ । बाँकी काम म्याद सकिएको एक वर्षसम्म पनि पुरा हुन सकेको छैन । पटक-पटक म्याद थप गरिएको भए पनि निर्माण कम्पनीले काम नगरेपछि पुल निर्माण कार्य अलपत्र परेको हो ।
महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी कपिल पन्तले सुनीखोला पुलको काम यो पूरा नभएको बताए । उनले भने, ‘पुलको काम ८५ प्रतिशत सकिएको छ । तर, सबै काम सकिएको छैन ।’

गोदावरी नगरपालिकाकै मनहरा खोलामा पनि पुल निर्माणको काम अलपत्र रुपमा रहेको छ । साढे ९ करोडको लागतमा निर्माण थालिएको सो पुल निर्माणको काम अलपत्र परेको हो ।

उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले मनहरा खोलाको पुल निर्माणको जिम्मा पाएको थियो । तर, पुलको डिजाइ संशोधन गर्नुपर्ने भएपछि प्रगति न्यून छ । मनहरा पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिदैछ । तर, पुलको जग निर्माणको काम समेत सकिएको छैन । पन्तले भने, ‘यो पटकको दाहित्व ३ करोड छ । यो पटक ५० लाख मात्र बजेट थियो । अर्को वर्षमा बजेटको समस्या होला जस्तो छ ।’

नेपाल-भारत सीमा क्षेत्रको मोहना नदीमा २७ महिनामा सक्ने गरी २०७८ माघमा रायमाझी कन्स्ट्रक्सनसँग पुल निर्माणको सम्झौता भएको छ ।

मोहनामा पुल निर्माणको ४२ प्रतिशत काम भएको छ । साढे १३ करोड लागतको मोहना पुलको जमिन मुनिको काम समेत सकिएको छैन । मोहनामा २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।
फुटपातसहितको पुल निर्माणका लागि २०८१ जेठ ५ गते समय सकिएको छ । २०८२ वैशाखसम्मका लागि समय थप गरिएको छ । आगामी आर्थिक वर्षका लागि ५ करोड ५० लाख बजेट मोहना पुल निर्माणका लागि विनियोजन गरिएको छ ।
महाकाली पुल आयोजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी पन्तले मोहनाको पुल निर्माणमा बजेट भए पनि सुनीखोला र मनहराको पुल निर्माणका लागि बजेटको अभाव हुन सक्ने बताए । नेपाल-भारत सीमाना गौरीफन्टादेखि अत्तरियासम्मको ६ लेन सडक विस्तार भएपछि तीनवटा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।