म्याग्दी जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन वृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ ।

बाँस्तोलाका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका ६ वटै स्थानीय तहमा ४ हजार ७ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ३ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट २४ करोड भित्रिएको थियो ।
जिल्लामा ८ सय २० हेक्टर जमिनमा सुन्तला खेती हुँदै आएकोमा ४ सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र ६ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ ।
जिल्लाका अधिकांश ठाउँका सुन्तला बोटबाटै बिक्री भइसकेको छ । अहिले बेनी नगरपालिकाको मरेक, अन्नपूर्ण गाउँपालिकाको दोसल्लेलगायत ठाउँमा धमाधम सुन्तला टिप्ने काम भइरहेको छ ।
किसानको बगैँचाबाट प्रतिकिलो ६० देखि १ सय २० रुपैयाँसम्ममा व्यापारीले सुन्तला खरिद गरेका छन् । दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले गाउँमा उत्पादन भएको सुन्तला धमाधम बिक्री भइरहेको र उत्पादन बढेकाले किसान उत्साहित बनेको बताए ।
जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, बुटवल, भैरवा, नारायणगढलगायत बजारमा निकासी हुँदै आएको छ ।-रासस



