
काठमाण्डौ : प्रतिनिधि सभा सदस्यहरुले बाढी पहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनु पर्नेमा जोड दिए ।


प्रतिनिधि सभाको आजको बैठकमा उनीहरूले बाढी पहिराेका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे।
प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले बाढी पहिरोका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडक खण्ड समेत अवरुद्ध भएको बताए ।

मनसुनजन्य विपद्मा ज्यान गुमाएका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिए। सांसद लक्ष्मी तिवारीले मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताए । सांसद विद्या भट्टराईले लामाचौर क्षेत्रमा नाला व्यवस्थापन हुन नसक्दा बालकको मृत्यु भएको भन्दै सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। ‘पोखरा क्षेत्रमा पहिरोको पनि जोखिममा छ । पहिराका कारण आवागमन रोकिएको छ’, उनले भने, ‘ठाउँठाउँमा सडक भासिएको छ, पोखराका १७ बस्ती डुबानको जोखिममा छन्, विपद् प्रभावितलाई राहत र क्षतिपूर्ति व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ।’

यसैगरी अर्का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले पनि बाढी पहिरोका कारण मानिसहरुको ज्यानै जोखिममा रहेको भन्दै घाइतेको निःशुल्क उपचार र पीडितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गरे ।

सांसद किरणकुमार शाहले मनसुन सुरु भएसँगै बाढी पहिरोको जोखिममा बढेको भन्दै पूर्वतयारीमा सरकारको तयारी कमजोर रहेको बताए। ‘जलवायु परिवर्तनका कारण बाढी पहिरोजस्ता मनसुनजन्य विपत्ति बढिरहेको छ, यसबाट बच्न सरकारले प्रतिकार्य र पूर्वतयारीमा जोड दिन आवश्यक छ।सांसद वासुदेव घिमिरेले पनि बाढी पहिरोका कारण धनजनको क्षति भएको भन्दै विपद् व्यवस्थापन र पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिए।

उनले निर्माण–व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अनुरोध पनि गरे।
