
कैलाली : कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १० वटै वडा अध्यक्षहरूले बजेट सम्बन्धीको बैठक बहिष्कार गरेका छन् ।


ढिलो गरि यही असार २५ गते बजेट ल्याउने तयारी गरेको लम्कीचुहा नगरपालिकाले बजेटबारे छलफल गर्न बिहीवार अपरान्ह ४ बजे कार्यपालिका बैठक बोलाएको थियो । तर, बजेटमा कुरा नमिल्दा वडा अध्यक्षले बैठक बहिस्कार गरेका छन् ।
‘वडाले पाउनु पर्ने बजेटमा मेयरले मनोमानी गर्नुभयो, मेयरलाई उप–मेयरले पनि साथ दिनुभयो अनि बैठक बहिस्कार गर्यौ’, एक जना अध्यक्षले भने, ‘वडामा हामीले धेरै काम गर्नु पर्छ, सामान्य समस्या वडा अध्यक्षले समाधान गर्नु पर्छ त्यसको लागि वडाले चलाउन पाउने गरि १ करोड बजेट मागेका हौं तर मेयरले चालीस लाख मात्र वडालाई दिने भन्नू भयो यो हामीलाई मान्य छैन ।’

अर्का वडा अध्यक्षले भने, ‘सधैं यस्तै हामी पेलिनु पर्ने पछिल्ला दुई बजेट त जे भए भए यसपाली सम्मान जनक बजेट आएन भने हामी बजेट पास गर्न पनि दिँदैनौँ ।’

गत जेष्ठ २१ गते नगरपालिकाले नीति तथा कार्यक्रम पास गरि सकेको छ । असार १० गते भित्र बजेट ल्याउनु पर्ने प्रावधान भए पनि ढिलो गरि असार २५ गते मात्रै लम्कीचुहाले बजेट ल्याउन लागेको हो ।

‘आउन लागेको बजेटमा मनोमानी र छेडाखानी भए बजेट कुनै हालतमा पास गर्न दिदैनौं’, एक अर्का अध्यक्षले भने ।
