काठमाण्डौ : एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि शुरु हुँदैछ । काठमाण्डौको प्रज्ञा भवन कमलादीमा चलिरहेको महाधिवेशनमा आजदेखि चुनावी प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन समेत पारित गरेको छ ।

अध्यक्षका लागि हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको दाबी कायमै रहेको छ । सहमतिको प्रयास भइरहे पनि नेताहरूले आआफ्नै दाबी छोडेका छैनन् । महाधिवेशनबाट २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुने जनाइएको छ ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।



