कैलालीमा भू–जलाधार संरक्षणका लागि सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्। घोडाघोडी नगरपालिका–१ सुखडमा आयोजित “जलाधार संरक्षण नागरिक अन्तरसंवाद” कार्यक्रममा सहभागी स्थानीय, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले जलाधार संरक्षण आजको प्रमुख चुनौती भएको बताएका हुन्।
कन्द्रा–कटैनी उपजलाधार नागरिक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य, प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख–उपप्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जलाधारका प्रमुख सवाल, समस्या, चुनौती र सम्भावनाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा सञ्जालका संयोजक हरिप्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भू–तथा जलाधार व्यवस्थापन कार्यालय कैलालीका प्रमुख डा. किशोर अर्यालले “कन्द्रा र कटैनी जलाधार व्यवस्थापन (हाम्रो नदी, हाम्रो जीवन)” विषयमा प्रस्तुति दिएका थिए। त्यसैगरी लीलाधर न्युरेले जलाधार संरक्षण, नागरिक सहअस्तित्व, आयआर्जन तथा रैथाने प्रजातिको संरक्षणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
खुला छलफलका क्रममा पत्रकार, कर्मचारी, प्राध्यापक तथा स्थानीय जनप्रतिनिधिहरूले चुरे क्षेत्रबाट सुरु भएर तल्लो तटीय क्षेत्रमा परेको प्रभावबारे चिन्ता व्यक्त गरेका थिए। उनीहरूले नीतिगत समस्याको समाधान आवश्यक रहेको बताएका थिए।
प्रतिनिधि सभा सदस्य जगत जोशीले नदीलाई समस्या मात्र नभई सम्भावनाका रूपमा लिनुपर्ने धारणा राख्दै प्रकृति र मानवबीच बढ्दो द्वन्द्व समाधानका लागि संरक्षणमा जोड दिनुपर्ने बताए। उनले नागरिकको जनजीविकासँग जोडिएका कानुन समयमै निर्माण नहुँदा समस्या भएको उल्लेख गर्दै तीनै तहका सरकारले समन्वय गरेर तटीय क्षेत्रका नागरिकका पक्षमा काम गर्नुपर्ने बताए।
त्यसैगरी, रेडक्रसका प्रतिनिधि र वन क्षेत्रका अधिकारीहरूले चुरे संरक्षणमा जोड दिँदै प्रकृतिको अति दोहनले समस्या बढाएको बताएका थिए। नदीजन्य पदार्थ उत्खननसम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन नभएको उनीहरूको भनाइ थियो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रस्तुत कार्यपत्र कार्यान्वयनमा लैजान प्रतिबद्धता जनाउँदै प्राकृतिक स्रोत संरक्षण नै सबैको आयस्रोत र जीवनसँग जोडिएको बताए। उनले वन अतिक्रमण, आगलागी, काठ तस्करी, खुला चरिचरण, मानव–वन्यजन्तु द्वन्द्व तथा जलवायु परिवर्तनजस्ता समस्यामा नीतिगत सुधार आवश्यक रहेको औँल्याए।
जिल्ला समन्वय समिति कैलालीकी प्रमुख टीका कुमारी चौधरीले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताइन्। प्रदेश सभा सदस्यहरू जानकी देवी कुवर र खुसीराम चौधरीले पनि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका सहभागीहरूले सरकारी तथा गैरसरकारी निकायबीच समन्वय गरी समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष निकालेका छन्। जलाधार संरक्षणका लागि तीनै तहका सरकारको सामूहिक प्रयास अपरिहार्य रहेकोमा उनीहरूको जोड थियो।
कार्यक्रमको अध्यक्षता कन्द्रा उपजलाधार नागरिक सञ्जालका संयोजक लक्ष्मण चौधरीले गरेका थिए भने प्रकाश मिश्रले सहजीकरण गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी, आइएफआरसी, विश्व वन्यजन्तु कोष र सहयोगीको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।




