आन्तरिक पर्यटकहरूको चहलपहल बढे सँगै कैलालीको बर्दगोरियामा रहेको झोलुङ्गे पिकनिक स्पटलाई व्यवस्थित गर्न थालिएको छ । पहिलो चरणमा जमिन सम्म्याउने, बाटो व्यवस्थित गर्ने तथा नयाँ ट्र्याक खोल्ने काम गरेको गाउँपालिकाले लगत्तै अन्य व्यवस्थापनको काम थाल्ने जनाएको छ ।
पालिकाको वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामा झोलुङ्गे पुल बने सँगै वनभोज खाने तथा घुमघाम गर्नेहरूको चहलपहल निकै बढेको हो । घुमघाम गर्ने मानिसहरूको भिड बढे पनि खानेपानी, शौचालय, ट्रस्ट तथा फोहर व्यवस्थापन नहुँदा उनीहरूले व्यहोर्नु परेको समस्यालाई मध्यनजर गर्दै पिकनिक स्पट व्यवस्थापनको काम थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पालिकाले यसलाई व्यवस्थित गर्दै लैजाने छ भने निकट भविष्यमा पालिकाको आम्दानीको श्रोतका रूपमा समेत विकास गर्न सक्ने छ । “तत्काल फिल्ड व्यवस्थापन र सडक निर्माण गरेका छौ । अब हिउँदे अधिवेशनबाट खानेपानी र ट्रस्ट निर्माणको काममा अघि बढ्ने सल्लाह भएको छ । यति मात्र होइन डिपिआर नै बनाएर माथिल्लो निकायबाट समेत बजेट सुनिश्चित गरी यसलाई वृहत् उद्यानको रूपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ ।” प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने ।
यस्तै पिकनिक स्पट व्यवस्थापनको कामको अनुगमनमा भेटिएका गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले पनि यसलाई पिकनिक स्पट मात्र नभई वृहत् उद्यानका रूपमा विकास गर्ने योजना रहेको बताए । झोलुङ्गे पुल सँगै वृक्षारोपण गर्ने र आवश्यकता अनुसार अन्य व्यवस्थापन गर्न सके बर्दगोरियाका नागरिकले पिकनिक खान तथा घुमघाम गर्न अन्यत्र जानु नपर्ने उल्ले गरे ।
“बर्दगोरियामा पिरुवा, बर्दगोरिया धाम क्षेत्र, ठाकुरद्वारा र पुरैनाताल नै पर्यटनका सम्भावना बोकेका ठाउँहरू हुन । तर सिचाइको ड्याम निर्माणले गर्दा पिरुवामा अहिले पिकनिक खाने ठाउँ छैन । अन्यत्रका ठाउँहरूलाई हामी व्यवस्थित गर्दै लैजाने योजनामा छौ । बजेटका लागी माथिल्लो निकायमा पनि कुरा गरेको छु । आश्वासन दिनु भएको छ । यदि त्यो भयो भने झोलुङ्गे पिकनिक स्पटको काम चाँडै अघि बढ्छ ।” अध्यक्ष कुँवरले भने ।

दसैँ तिहार सकिए सँगै यतीखेर बर्दगोरियाको झोलुङ्गे सँगै ठाकुरद्वारा र पुरैनातालमा समेत विभिन्न ठाउँबाट मानिसहरू पिकनिक खान तथा घुम्नहरु आउने गरेका छन् । यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउँहरूको विकास र प्रवर्द्धन गर्न सके रोजगारी सृजना सँगै व्यापार व्यवसाय समेत बढ्ने भएकाले सरकारले विशेष महत्वका साथ यस्ता योजनालाई अघि बढाउनु पर्ने आम नागरिकको भनाई छ ।



