समाचार सारांश
- • मृत भेटिएकी सम्झना भट्ट १७ वर्षीया किशोरी थिइन्।
- • सम्झना आइतबार बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।
कञ्चनपुर, बेलडाँडी – घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी १७ वर्षीया सम्झना भट्टको घटनामा संलग्न आशंकामा प्रहरीले उनका श्रीमान्, सासू र ससुरालाई पक्राउ गरेको छ।
बेलडाँडी गाउँपालिका–२ की सम्झनाका श्रीमान् २४ वर्षीय पवन भट्ट, सासु किरण भट्ट र ससुरा हरिदत्त भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्।
डीएसपी बोहराका अनुसार माइती पक्षको जाहेरीपछि पवन भट्टलाई आइतबार नै नियन्त्रणमा लिइएको थियो। पछि अनुसन्धानक्रममा उनका सासू–ससुरालाई पनि पक्राउ गरिएको हो। “आत्महत्या दुरुत्साहनको आशंकामा अदालतबाट म्याद थप गरी तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ,” डीएसपी बोहराले भने।
सम्झना आइतबार बिहान आफ्नै सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनाको प्रारम्भिक अनुसन्धानमा उनका माइती पक्षले “दाइजोको निहुँमा मानसिक तथा शारीरिक हिंसा गरिएको” आरोप लगाएका छन्। उनीहरूका अनुसार पटक–पटक यातना सहनु परेपछि अन्ततः सम्झनाले आत्महत्या गर्न बाध्य भएकी हुन्।
करीब छ महिनाअघि मात्रै प्रेम विवाह गरेका पवन र सम्झनाबीच शनिबार झगडा भएको थियो। झगडापछि दुवैजना बेलडाँडी प्रहरी चौकीमा पुगेका थिए। प्रहरीले ‘सम्झाइबुझाइ’ गर्दै घर पठाएको थियो। त्यसको भोलिपल्ट सम्झना मृत अवस्थामा फेला परिन्।
हाल सम्झनाको शव महाकाली प्रादेशिक अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ। घटना रहस्यमय बन्दै गएपछि माइती पक्षले न्यायको माग गरेका छन्।


