उच्च अदालत दिपायल डोटीबाट कैलालीको घोडाघोडी नगरपालिका सुखडका नाममा १५ दिने सूचना म्याद जारी गरिएको छ।
अदालतको आदेशको अवहेलना गरिएको दाबीसहित दायर भएको निवेदनका आधारमा उक्त नगरपालिका र त्यसका पदाधिकारीलाई कानुनी जवाफ दिन निर्देशन दिइएको हो।
रिट निवेदन नं. ०८२–FJ–०००१ अन्तर्गत, जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. ११ का बिपिन प्रसाद आचार्य (उपाध्याय) द्वारा दायर अवहेलना निवेदनमा अदालतले २०८२।०४।१४ मा प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश जारी गरेको हो।
आदेशमा भनिएको छ:
“के कसो भएको हो? निवेदकको मागअनुसार अदालतको अवहेलनामा कारबाही हुन नपर्ने कुनै आधार, कारण वा प्रमाण भए ती प्रमाणसहित आफैं वा कानुनी प्रतिनिधिमार्फत यो म्याद सूचना प्राप्त भएको मितिबाट बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र लिखित जवाफ पेश गर्नू। म्याद गुजारी बसिएमा पछि तपाईंको उजुर-वाजुर लाग्ने छैन।”
यससंगै अदालतले निवेदनको प्रतिलिपिसमेत साथमा पठाउँदै समयमै लिखित जवाफ दिनू भनी प्रतिवादी पक्षलाई स्पष्ट निर्देशन दिएको छ।
नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रियासम्बन्धी विवादमा अदालतले पूर्व आदेश जारी गरेपनि कार्यान्वयन नभएको भन्दै बिपिन आचार्यले अदालतमा अवहेलना निवेदन दायर गरेका थिए।
अदालतको आदेशपछि घोडाघोडी नगरपालिकालाई कानुनी हिसाबले स्पष्टीकरण दिनुपर्ने बाध्यता सिर्जना भएको छ।




