घोडाघोडी नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १४९ जना टुहुरा बालबालिकालाई शैक्षिक सामग्री व्यवस्थापनका लागि नगद छात्रवृत्ति वितरण गरेको छ।
नगरपालिकाले प्रति विद्यार्थी ३ हजार ३ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो। छात्रवृत्ति वितरण गर्दै नगरप्रमुख खडक बहादुर रावतले लक्षित बालबालिकाहरूको शिक्षामा टेवा पुगोस् भनेर सहायता गरिएको बताए। “आमाबाबु गुमाएका, कमजोर पारिवारिक पृष्ठभूमिका बालबालिकाको शिक्षा अब नगर सरकारले सम्हाल्नेछ,” उनले भने।
रावतले बालबालिकाहरूलाई धेरै पढेर समाजको जिम्मेवार व्यक्ति बन्न आग्रह गरे। “शिक्षा भनेको उज्यालो भविष्यको ढोका हो,” उनले भने, “नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरू अझ व्यवस्थित रूपमा अघि बढाउनेछ।”
शिक्षा शाखाका उपसचिव खगेन्द्र बहादुर सिंहका अनुसार छात्रवृत्तिका लागि नगरभित्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत आमाबाबु विहीन बालबालिकाको लगत संकलन गरी वितरण गरिएको हो।
“उनीहरू विद्यालय नियमित जान सकोस् र शैक्षिक सामग्रीको अभावले पढाइ नछोडून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उनले बताए।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, शिक्षा शाखा प्रमुख, वडा अध्यक्षहरू, शिक्षक तथा बालबालिकाहरूको सहभागिता रहेको थियो। छात्रवृत्ति पाएपछि विद्यार्थीहरू उत्साहित देखिन्थे।


