
प्रहरी प्रधान कार्यालयले १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार वैशाखको तलबभत्ता खानेगरी सरुवा गरिएको हो ।


सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय र केही वृत्तका इन्चार्ज पनि फेरिएका छन् । तर यता कैलालीको इलाका प्रहरी कार्यालय सुखड अझै प्रमुखविहीन बनेको छ ।
गत चैत ५ गते डिएसपी दिपेन्द्र कुमार पाल विवादित बनेपछि महेन्द्रनगरस्थित गणमा काज फिर्ता तानिएका थिए । त्यस यता इप्रका सुखड नेतृत्वविहीन थियो । प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले निमित्त भएर काम गर्दै आएका थिए ।

तर बुधबार १२१ जना डीएसपी सरुवा गर्दा पनि प्रहरी प्रधान कार्यालयले इप्रका सुखड्मा प्रमुख खटाउन सकेन । स्रोतका अनुसार इप्रका सुखड्मा राम्रो कमाई नहुने भएपछि डीएसपीहरु आउन मान्दैनन् ।

जसकारण यसपटकको सरुवामा पनि इप्रका सुखड्ले इन्चार्ज नपाएका हो । अहिलेसम्म यो इप्रकामा चारजना डीएसपीले जिम्मेवारी सम्हालिसकेका छन् । दरबन्दी नभएपनि प्रहरी प्रधान कार्यालयले काजमा इन्चार्ज पठाउने गरेको छ । साथै निमित्त साउँदको पनि सरुवा भएको छ ।

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढी सरुवा गरिएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय अछामबाट इन्स्पेक्टर जय पार्की आउने भएका छन् ।

