
कैलालीको घोडाघोडी बहुुमुखी क्याम्पसको स्ववियु चुनावबारे नेविसंघ र अनेरास्ववियुले गोप्य बैठक बसेर छलफल गरिरहेका बेला लुकेर भिडियो बनाउनेको मोबाइल थुतिएको छ । स्ववियु चुनावमा घोडाघोडी क्याम्पसमा गठबन्धन गरेका नेविसंघ र अनेरास्ववियुका नेताहरु शुुक्रबार नवरत्न होटलमा रणनीतिक छलफलमा थिए ।


सोही बेला बाहिरबाट लुकेर भिडियो कैद गरिरहेको देखेपछि विद्यार्थीहरुले मोबाइल नियन्त्रणमा लिएका थिए तर भिडियो कैद गर्ने व्यक्ति भने भागेका छन् । विद्यार्थी नेताहरुले गोप्य बैठकको भिडियो कैद गरिएको मोबाइल इलाका प्रहरी कार्यालय सुखडमा बुझाएका छन् भने भिडियो कैद गर्ने व्यक्तिको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै निवेदन समेत दिएका छन् ।
इलाका प्रहरी कार्यालय सुखडका निमित्त प्रमुख प्रहरी निरीक्षक दीर्घ साउदले विद्यार्थी नेताहरुले भिडियो खिच्ने व्यक्तिको मोबाइल नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । उनले भिडियो खिच्ने व्यक्तिको पहिचान नखुलेको र अहिले फरार रहेको बताए । भिडियो खिच्ने व्यक्तिलाई कारवाहीको माग गर्दै निवेदन समेत दिइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।

आज भइरहेको स्ववियु निर्वाचनमा घोडाघोडी बहुुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियुुले गठबन्धन गरेका छन् । अनेरास्ववियुु–नेविसंघको संयुक्त प्यानलबाट अशोक गौतमले सभापतिमा उम्मेदवारी दिएका छन् ।

माओवादी निकट अखिल क्रान्तिकारीबाट गणेश भण्डारी, विप्लव निकट अखिल समाजवादीबाट यमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

