बैतडीको सिगास गाउँपालिका-१ मा आज शोक बिदा दिइएको छ । सिगास गाउँपालिका-१ मा शनिवार भएको जिप दुर्घटनामा परी एकै गाउँका दुईको जनाको मृत्यु भएको र चार जना घाइते भएकाले आज वडाका शिक्षण संस्था र सरकारी कार्यालयहरुमा शोक बिदा दिएको वडा अध्यक्ष रामचन्द्र ऐरीद्वारा हस्ताक्षिरित सूचनामा भनिएको छ ।

दुर्घटनामा सिगास-१ खरकेउडाकी १९ वर्षीया पार्वती धामी र १४ वर्षीया जयन्ती धामीको मृत्यु भएको थियो । जिपमा सवार अन्य ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको वडा अध्यक्ष ऐरीले बताए। सिगास-१ कै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती धामी र १४ वर्षीया भागरथी धामीको उपचार भइरहेको हो ।
शनिवार बिहान ५ बजे सिगास गाउँपालिका-१, को गडानबाट तल्लो इराना हुँदै फर्कंदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च ४०२८ नम्बरको जिप माडौं भन्ने स्थानमा दुर्घटनामा परेको थियो । कच्ची सडकबाट जिप करीब ५ सय मिटर तल खसेको थियो । दुर्घटनाका समयमा सिगास-१ कै जयन्त बोहराले जिप चलाईरहेका थिए। उनी अर्को जिपको सहचालक रहेको बुझिएको छ । उनी फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।



