नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा (एमाले) मै फर्किने तयारी गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवाद सकारात्मक भएपछि २०७८ सालमा एमाले परित्याग गरी नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका नेता गौतम पुरानै पार्टीमा फर्कन लागेका जनाइएको छ ।

‘प्रधानमन्त्री ओली र उहाँ (वामदेव गौतम) बीच आज पनि टेलिफोन संवाद भयो। उहाँले एमालेमै फर्किने जानकारी गराउनुभएको छ। शुक्रबारको कुराकानीमा पनि उहाँले त्यही बताउनुभएको थियो। उहाँले आफू पहिलेदेखि नै एमालेमा फर्कन इच्छुक भए पनि वातावरण नमिलेको बताउनुभएको थियो,’ गौतम निकट एक नेताले सञ्चार माध्यमलाई भने ।
ती नेताका अनुसार प्रधानमन्त्री ओली र नेता गौतमबीच पदीय हैसियतबारे मूर्त कुराकानी भने अझै भएको छैन् । ‘प्रधानमन्त्रीले एमालेमा आउनुस्, पदबारे छलफल गरौंला भन्नुभएको छ । उहाँ उत्साहित हुनुहुन्छ,’ ती नेताले भने । प्रधानमन्त्री ओलीको सचिवालयले पनि नेता गौतमसँगको संवाद सकारात्मक भएको बताएको छ । ‘उहाँहरूबीच शुक्रबार कुराकानी भएको हो । प्रधानमन्त्री भेटेर फर्किँदा गौतम उत्साहित देखिनुहुन्थ्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो।एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा गौतम प्रभावशाली थिए ।
अहिले प्रधानमन्त्री रहेका अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए। उनै गौतमले ओलीलाई ‘एक व्यक्ति एक पद’को मान्यता अनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए । अध्यक्ष ओली प्रधानमन्त्री भएकाले सरकार तिरै उनको बढ्ता ध्यान हुनुपर्ने गौतमको मत थियो । तर, नेकपा विभाजनका बेला प्रचण्डलाई साथ दिएनन् । पछि अदालतले नेकपालाई खारेज गरेपछि एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा फर्कंदा एमाले उपाध्यक्षबाट राजीनामा गौतमले दिएर एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए । बीचमा एमालेमा फर्कन उनले अध्यक्ष ओलीसँगै संवाद अघि बढाएका थिए। तर, त्यतिबेला अध्यक्ष ओली नै इच्छुक देखिएका थिएनन् ।
एमालेमा फर्कने वातावरण नबनेपछि उनी एकीकृत समाजवादीमा जाने तयारी पनि गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेता गौतमको निवासमै पुगेर छलफल गरेका थिए । गौतम पनि छलफलका लागि एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए । एकीकृत समाजवादी उनलाई तेस्रो वरियता दिन तयार थियो ।
एकीकृत समाजवादीसँग पार्टी एकता नै हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतम अन्ततः एमाले फर्कन राजी भएका हुन् । अध्यक्ष ओलीले केही दिनमै त्यसको वातावरण बनाइदिने आश्वासन दिएको गौतमनिकटहरूले बताएका छन् ।



