कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले यही पुस २७ गते देखी माघ ५ गते सम्म चैतन्य विद्यार्थी महोत्सव आयोजना गर्ने भएको छ । विगतमा हुँदै आएको वार्षिक खेलकुद सप्ताहलाई परिष्कृत गरी विज्ञान र प्रविधिमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्षबाट विद्यार्थी महोत्सवका रूपमा सञ्चालन गरिने विद्यालयले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
महोत्सवको अवसरमा ‘रक्तदान जीवनदान: मानव सेवाका लागि चैतन्य अभियान’ भन्ने नाराका साथ बृहत् रक्तदान अभियान समेत सुरु गरिने चैतन्य पाठशालाका अध्यक्ष गणेश जोशीले बताए । उनका अनुसार विद्यार्थी महोत्सवमा विज्ञान प्रविधिको अन्वेषण, प्रयोगात्मक परियोजनाका साथै कला, साहित्य, संस्कृति, रहनसहन, खानपान र मौलिकताको पहिचान र प्रदर्शनी गरिने छ ।
यस्तै महोत्सवमा रमाइलो खेल, व्यक्तित्व विकासका कार्यक्रम, नृत्य तथा गायनको प्रतिस्पर्धा, कलश यात्रा, समाज सेवा, पाठ्यपुस्तक र पाठ्यक्रम बाहिर विद्यार्थीहरूको अन्तर निहित क्षमताको पहिचान र प्रस्फुटनको लागि अवसरको सृजना, विज्ञान र प्रविधि अन्तर्गत विद्यार्थीद्वारा निर्मित आरसी प्लेन र ड्रोन उडाइने, स्टिम डिपार्टमेन्टका विद्यार्थीद्वारा निर्मित विज्ञान र प्रविधिको प्रदर्शनी, ज्ञानवर्धक पुस्तक प्रदर्शनी, योग ध्यान, संस्कृत, फुड फेस्टिभल, समुदाय र सम्पदाहरूको सरसफाइ र सामुदायिक स्वास्थ्य जागरणका क्रियाकलापहरू सञ्चालन गरिने जनाइएको छ ।



