कैलालीको बर्दगोरिया गाउँपालिकामा ठुलो सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । एमाले बर्दगोरिया गाउँ कमिटीद्वारा सोमबार पालिकाको वडा नम्बर ३ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन ।
माओवादी केन्द्रको युवा सङ्गठन वाइसिएलका बर्दगोरिया गाउँ कमिटी अध्यक्ष गणेश विश्वकर्मा सहित विभिन्न पार्टीका ४९ जना एमाले प्रवेश गरेका हुन । उनीहरूलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य कर्णबहादुर कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य टंक ओली, जिल्ला सदस्य कोकिला खत्री, गाउँ कमिटी सचिव नवीन ढुङ्गाना, वडा कमिटी अध्यक्ष वीर बहादुर राना, मुक्ति समाज बर्दगोरियाका उपाध्यक्ष लालसिंह बिक, भूमि अधिकार श्रमिक सङ्गठन नेपालका प्रदेश उपाध्यक्ष सरस्वती बिक लगायतले स्वागत गरेका छन् ।
आफ्नै दलहरूले आफूहरूलाई बेवास्ता गर्न थालेको, चुनावको समय बाहेक चिन्नै छोडेको तथा नेकपा एमालेले नेतृत्व गरिरहेको बर्दगोरिया गाउँ सरकारको सक्रियता र विकासका कामहरू देखेर आफूहरू एमाले प्रवेश गरेको प्रवेशीहरुले प्रतिक्रिया दिएका छन् । “अहिले एमालेले गाउँ सरकारको नेतृत्व गरेको छ । विकास भनेको के हो र कसरी विकास गरिन्छ भन्ने कुरा अहिलेको गाउँ सरकारको नेतृत्वबाट हामीले सिकेका र बुझेका छौ । बर्दगोरियालाई कसको आवश्यकता छ भन्ने कुरा पनि हामीले यो अवधिमा राम्रो सँग चिनिसक्यौ । त्यस कारण बर्दगोरियाको विकास अब एमाले बिना असम्भव छ भन्ने कुरा महसुस गरेर हामी एमाले प्रवेश गरेका हौ । पार्टीको नीति, विधि र सिद्धान्तलाई शिरोपर गर्दै समृद्ध बर्दगोरिया बनाउने महाअभियानमा हाम्रो अनवरत साथ रहने छ ।” वाइसिएल अध्यक्ष समेत रहेका नव प्रवेशी गणेश विश्वकर्माले भने ।
गाउँ सरकारले गरेको विकास, लिएको नीति र समन्वयले बर्दगोरियाको विकासले गति त लिएको छ नै सरकारको नेतृत्व गर्ने दललाई समेत आगामी दिनको नेतृत्वको लागी समेत सहज वातावरण बन्दै गएको छ ।




प्रकाशित :- २०८१ आश्विन १४, गते सोमबार