
कैलालीको लम्कीमा लम्की महोत्सव हुने भएको छ । मंसिर ६ गते देखी १६ गतेसम्म ‘लम्की महोत्सव २०८१’ हुने भएको हो । ‘समुन्नत लम्की चुहाको आधार–कृषि, पर्यटन व्यापार’ भन्ने मूल नाराका साथ लम्की चुहा उद्योग वाणिज्य संघले उक्त महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
शनिवार लम्कीमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था लम्की चुहा उद्योग वाणिज्यले अबदेखी वर्षैनी क्यालेन्डरको रुपमै मंसिर ६ देखी महोत्सव आयोजना गरिने जानकारी दिएको हो ।
महोत्सव सबै व्यापारीको उत्सव भएकाले महोत्सवमा सहयोगका लागि अपिल गर्दै यस अघिका दिनमा संस्था चलायमान थिएन अब हामीले वाणिज्य संघलाई चलायमान बनाउदैछौ, त्यसै अनरुप महोत्सवको आयोजना गर्न लागेका हौँ । अब देखी महोत्सवले निरन्तरता पाउँछ वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाइले भने ।
स्थानीय र बाह्य व्यापारिक गतिविधिहरूलाई प्रवर्द्धन गर्दै, नयाँ बजार खोज्न र यस क्षेत्रका पर्यटकीय क्षेत्रहरूको पहिचान गराउन लम्की महोत्सव २०८१“ को आयोजना गरिएको जनाइएको छ । महोत्सवले लम्कीचुहाको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षलाई उजागर गर्दै समृद्धिको बाटोमा नगरपालिका सहितका क्षेत्रलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने लम्की चुहा उद्योग वाणिज्य संघको विश्वास लिएको छ ।
यस अघि चुलीमालिका साहित्यिक युवा क्लबले कार्तिक २ गतेदेखि लम्की साङ्गीतिक महोत्सवको आयोजना गरेको थियो । एउटै क्षेत्रमा छोटो समयको अवधिमा छुट्टाछुट्टै महोत्सव गर्दा राम्रो सन्देश नजाने भन्दै आफूहरूले आयोजना गरेको महोत्सवलाई समायोजन गरी उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवलाई सहयोग गर्ने क्लबका अध्यक्ष नामकर खनालले बताए ।
महोत्सवको मुख्य सहयोगीको रुपमा चुलीमालिका साहित्यिक युवा क्लब रहेको छ ।







प्रकाशित :- २०८१ आश्विन १३, गते आईतवार