
सुदूरपश्चिम प्रदेशमा सीमा नाका भएर स्वदेश फर्कनेको सङ्ख्या दिनानु दिन बढ्दै गएको छ । नेपाल-भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको बढ्दो रुपमा रहेको छ ।


कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरिफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरू यतिबेला स्वदेश फर्कन थालेका हुन् । पछिल्लो एक साता ठूलो सङ्ख्यामा स्वदेश फर्कनेहरु बढ्न थालेका छन् । हिजो (सोमबार) मात्र गड्डाचौकी नाका कञ्चनपुरबाट २ सय ४६, जुलाघाट नाका बैतडीबाट २६ र सबैभन्दा बढी गौरिफन्टा नाका कैलालीबाट ३ सय २६, पुलघाट नाका दार्चुलाबाट ३३ र खकरुला हेल्थ डेस्क ६३ गरेर ६ सय ९४ जना स्वदेश फर्किएका जनाएको छ ।
सबैभन्दा बढी कैलालीको गौरिफन्टा र त्यसपछि गड्डाचौकी नाकाबाट स्वदेश फर्कने गरेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र (पीइओसी) ले सङ्कलन गरेको विवरणमा उल्लेख छ । आइतबार ५५ सय ३३ जना स्वदेश फर्किएका थिए । हिन्दुहरूको महान चाड वडा दशैँ नजिकिँदै गर्दा भारतबाट स्वदेश फर्कनेको सङ्ख्या दैनिक रुपमा बढ्न थालेको छ ।

प्रदेशका विभिन्न सीमा नाका हुँदै दैनिक ६ सयको हाराहारीमा नेपालीहरू स्वदेश फर्किरहेका छन् । सुदूरपश्चिमबाट कामको खोजीमा परिवारसहित भारत पसेकाहरू पनि यतिबेला स्वदेश फर्कन थालेका छन् । सीमा क्षेत्रमा पुरुषसँगै महिला र बालबालिका समेत घर फर्कने क्रम डेढ सातायता बढेको छ । चाड पर्व नजिकिएसँगै यतिबेला भारत पस्ने भन्दा फर्कनेको सङ्ख्या उच्च देखिएको छ । सीमा नाकामा पछिल्लो समय बाहिरिने र भित्रिनेको लगत सङ्कलन गर्ने काम हुँदै आएको छ ।


