पहिलो संस्करण को नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागि हुन खेलाडीहरूको अक्सनका लागि दर्ता प्रक्रिया आजबाट खुला गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिवार एक विज्ञप्ति सार्वजनिक गर्दै पहिलो संस्करणको एनपिएलको अक्सनमा सहभागी हुन चाहने खेलाडीहरूलाई नाम दर्ता गर्न आह्वान गरेको छ ।
लिगको पहिलो संस्करणको लागि हुने अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीका लागि खेलाडी दर्ता प्रक्रिया खुला गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । खेलाडीलाई श्रेणी अनुसार ए, बी र सी गरी विभाजन गरिने भएकोले खेलाडीले कुनै पनि श्रेणीमा नाम दर्ता गराउन सक्ने क्यानले जनाएको छ ।
खेलाडी दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ । खेलाडीले असोज १२ गते सम्म नाम दर्ता गरिसक्नु पर्ने क्यानले जनाएको छ । यसअघि क्यानका सचिव पारस खड्काले एनपिएलको अक्सन दशैं अघि हुने बताएका थिए ।
नेपाली खेलाडी अक्सनबाट छनोट हुँदा विदेशी खेलाडी भने टोलीहरूले सिधै अनुबन्धन गर्न पाउने प्रावधान रहेको छ । एनपिएलमा सहभागी ८ टोली र तीनका मार्की खेलाडी छनोट भइसकेका छन् ।
गोलाप्रथाबाट मार्की खेलाडीको रुपमा काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, विराटनगरमा सन्दीप लामिछाने, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित कुमार पौडेल, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी यसअघि नै छनोट भएका थिए ।
क्यानको आयोजनामा एनपिएलको पहिलो संस्करण आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।



