
दाङको तुलसीपुरमा रहेको खाद्रेमा खहरे खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता भएका छन् ।


तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलामा शुक्रबार बेलुका आएको बाढीले अटो रिक्सा बगाउँदा खाद्रेकी ५६ वर्षीया सीता आले र सुर्खेत घर भई खाद्रे बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
तुलसीपुर बजारबाट खाद्रे गाउँका लागि छुटेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले बगाएको थियो । अटो रिक्सामा आले र खड्कासहित चालक खाद्रे गाउँका हरिकिसन बिक, सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आले रहेका थिए ।

चालक बिक, थापा र उनका छोरा बग्दै गर्दा उत्रन सफल भएका जनाइएको छ । अटो रिक्सा चालकले बाढीको अवस्था अन्दाज गर्न नसक्दा अटो रिक्सा बगाएको प्रहरीको भनाइ छ । बेपत्ता सीता आले र मञ्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति अर्को एउटा अटो रिक्सालाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीका लागि छुटेको रा १ ह २३५७ नम्बरको अटो रिक्सासहित चालकलाई बाढीले बगाएको थियो । अटो रिक्सा चालक तुलसीपुर–७ पर्सेनीका २२ वर्षीय दुर्गाबहादुर पुनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

