
कैलाली । उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवाल विभिन्न विषयको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

कटवालले आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको, स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई सोही अदालतको कम्प्युटर अपरेटरमा नियुक्ति गरी पारिश्रमिक दिएको र विभिन्न शीर्षकका बजेटमा नक्कली बिल भरपाई गरी चार लाख ९८ हजार ९ सय ९५ रुपैयाँ अनियमितता गरेको ठहरसहित अख्तियारले गत भदौमा विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।
कटुवाल बिरुद्द भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै रजिस्ट्रार कटवाललाई ४ लाख ९८ हजार ९ सय ९५ बिगो कायम गर्दै कैद सजाय र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर गर्न माग दाबी गरिएको थियो।
सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भएकोमा कटवालले दिपायल सदरमुकाममा होटलमा खर्च भएको स्वीकृती गरी बिल भरपाई बनाई भुक्तानी लिएको, कतिपयमा स्टोरकिपरबाट शोधभर्ना गराई भुक्तानी लिने, व्यवसायीहरुसँग अफिसको हिसाब किताब मिलाउन हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, किर्ते गरी भ्रमण काजको भुक्तानी लिने लगायत कार्य गरेको उनीमाथि आरोप लागेको थियो।
तिनै कटवाललाई आइतबार विशेष अदालतले रकम हिनामिना गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई ९ महिना कैद र ४ लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो । कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यस बापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका जनाइएको थियो।

त्यसक्रममा १ लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो। साथै, विभिन्न शीर्षकमा उनले अदालतबाट झन्डै ५ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौमा मुद्दा दायर गरेको थियो ।