कञ्चनपुर : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका केही बस्तीका घरहरु नदी कटानको उच्च जोखिममा परेका छन् ।
भीमदत्त-९ का देवबहादुर चन्दको पक्की घर वरपर रहेको केही भागको माटो कटान गरेर घर भत्किने उच्च जोखिम छ । गत असार तेस्रो साता आएको बाढीले घर वरपरको जमिन कटान गरेको चन्दले बताए । उनले भने, ‘अविरल वर्षापछि निर्माणाधीन महाकाली तेस्रो चरणको नहर भरिएर बस्तीतिर पस्यो, त्यही बाढीले कटान गर्दा घर भत्किने डर छ ।’
बाढीले कटान गरेर घर जोखिममा परेको एक महिना पुग्नै लाग्दा पनि तटबन्धन निर्माण हुन नसक्दा डराइडराइ बस्नु परेको उनले गुनासो गरे । ‘तटबन्ध निर्माणका लागि बारम्बार माग गरिरहेका छौँ । तर हाम्रो पीडा कसैले सुनेन । पानी पर्दा कुन बेला घर तहसनहस पार्छ थाहा छैन् पानी परेको बेला डराइडराइ बस्न बाध्य छौं’, उनले भने ।
त्यसैगरी भीमदत्त-९ कै निङलाशैनी टोलका दर्जनभन्दा बढी घर जोखिममा परेका छन् । कटान गरेर भ्वाङ्ग पारिएको ठाउँमा अहिले त्रिपाल टाँगिएको छ । ‘अस्थायी तटबन्ध निर्माण गरिदिए केही राहत हुन्थ्यो । तटबन्ध नहुँदा त्रिपाल टाग्नुपर्ने बाध्यता छ, आकाशमा बादल लाग्ना साथ निन्द्रा लाग्दैन’, स्थानीय मोहन नाथले भने ।
स्थानीयले अस्थायी तटबन्ध निर्माणको माग गरेका छन् । तुम्णानीकी राजमतीदेवी विष्ट भन्छिन्, ‘यहाँ खोला नदी केही छैन् । कहिल्यै बाढी आएको थिएन । पानीले नहर भरिएपछि बस्तीतिर आएर क्षति पुर्याएको हो, यस्तो घरमा जोखिम मोलेर कसरी बस्ने ?’
उनका अनुसार कालोपत्रे सडक भत्किएपछि आवतजावतमा समेत समस्या भएको छ । बाढीले दुई कठ्ठा जमिन र त्यसमा बनेको पसल भत्काएको स्थानीय भुवनसिंह धामीले बताए । चुरेमा भएको वर्षापछि आएको बाढीले ब्रह्मदेव र महेन्द्रनगर जोड्ने सडकमा पनि क्षति पुगेको छ । थोरै वर्षाले पनि अब सडक भत्किएर महेन्द्रनगरसँगको सम्पर्क टुट्ने जोखिम रहेको भीमदत्त नगरपालिका-९ राम नाथले जानकारी दिए ।
भीमदत्त नगरपालिका-९ स्थित स्थानीय थापा चौराह जोड्ने सडकको कल्भर्ड बाढीले बगाउँदा भीमदत्तको वडा नम्बर ६, ७ र ८ सँगको सडक अवरुद्ध विच्छेद भएको छ । ‘कल्भर्ड भत्किएको छ । गाडी सञ्चालन गर्न सकिने अवस्था छैन’, नाथले भने, ‘कल्भर्ड भत्किएको ठाउँनिर हिँडेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।’


