धनगढी : पूर्व राष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको मङ्गलबार दिउँसो ११ बजे निधन भएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो । घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ ।
गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए । त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए ।
महेन्द्र प्रहरी क्लबको प्रशिक्षक भएर पनि खड्काले काम गरेका थिए । सुदूरपश्चिममा प्रमुख फुटबल प्रशिक्षक भएर खड्काले खेलाडी उत्पादनमा योगदान गरेका थिए । खड्का प्रमुख प्रशिक्षक रहँदा धनगढीमा सम्पन्न छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम फुटबल टिमले स्वर्ण पदक जितेको थियो ।
सुदूरपश्चिमको फुटबल खेलको इतिहासमा योगदान दिन सफल खड्काका दुई छोरा एक छोरी र श्रीमती छन् । खड्काको अन्तिम संस्कार बुधवार बिहान गोदावरी आर्यघाटमा गरिने भएको छ । उत्तरबेहडीस्थित घरबाट बिहान ८ बजे शवयात्रा निकालिने मृतक खड्काका आफन्तले जनाएका छन् ।