
सुखड : कैलालीको घोडाघोडी नगरपालिकाले असार १६ गतेदेखि सञ्चालन गरिरहेको नगर स्तरीय परीक्षाको प्रश्नपत्र लिक भएको पाइएको छ । गत जेठ २८ गते घोडीघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समितिले प्रथम त्रैमासिक परीक्षाको सूचना सार्वजनिक गर्दै तालिका सार्वजनिक गरेको थियो ।
यहि असार १६ गते आइतबार देखि सञ्चालन भएको कक्षा ९ र १० को परीक्षाको प्रश्नपत्र भने परीक्षा सञ्चालन हुनु भन्दा दुई दिन अगाडि शुक्रबार नै लिक भएको पाइएको हो ।


घोडाघोडी नगरपालिकाको शिक्षा शाखा अन्तर्गत परीक्षा समितिले सञ्चालन गर्ने प्रथम त्रैमासिक परीक्षाको प्रश्नपत्र छाप्ने जिम्मा घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको घोडाघोडी छापाखानालाई दिएको थियो । तर, परीक्षा सञ्चालन हुनु पूर्व नै प्रश्नपत्र बाहिरिएपछि नयाँ प्रश्न पत्र बनाएर परीक्षा सञ्चालन भइरहेको छ ।

पहिलो र दोस्रो दिनको परीक्षा सञ्चालन भइसकेपछि सबै जसो विद्यालयमा प्रश्नपत्र लिक भएको जानकारी भएपछि रातारात असार १८ गतेको नेपाली विषयको प्रश्नपत्र नयाँ तयार पारिएको थियो ।

यता घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले यो जिम्मा सबै परीक्षा समितिको भएकाले आफूलाई कुनै जानकारी नभएको र परीक्षा समितिले प्रतिवेदन बुझायो भने सोही अनुसार कारवाहीको लागि अगाडि बढ्ने बताएका छन् ।

उता घोडाघोडी छापाखानाका सञ्चालक रुप लाल चौधरीले भने प्रश्नपत्र बाहिरिएकै हो तर कसले गर्यो थाहा नभएको बताए । आफ्नो छोराले त्यस्तो काम नगरेको र उसलाई केरकार गर्दा पनि नगरेको बताई रहेको जानकारी दिए । चौधरीले उल्टै आफ्नो बदनाम गर्न कसैले यस्तो गरेको आरोप लगाएका छन् ।

घोडाघोडी नगरपालिका विद्यालय स्तरीय परीक्षा समितिका सचिव भूपेन्द्र विक्रम कँवरले लाखौ रकम बराबरको नगरपािलका भरि झण्डै ७५ हजार प्रश्नपत्र खेर गएका कारण दोषीलाई उन्मुक्ति नदिने बताए । हाल अनुसन्धान भैरहेको पनि कुँवरले बताए ।
