कैलालीको घोडाघोडी नगरपालिकाबाट ८० किलो अवैध माछा बरामद गरिएको छ । नगरपालिकाको वडा नम्बर ११ आमबासा नजिकैको सडकबाट बेवारिसे अवस्थामा उक्त परिमाणको माछा मङ्गलवार दिउँसो फेला पारि बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र कुमार पालका अनुसार सो माछा भारतबाट अवैध रूपमा नेपाल ल्याइएको थियो । तालुक जिल्ला प्रहरी कार्यालयबाट र इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी पालको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा माछा फेला पारेको थियो।
बरामद गरिएको माछा इलाका प्रशासन कार्यालय सुखड, जनप्रतिनिधि, घोडाघोडी उद्योग वाणिज्य संघ, पत्रकार लगायतको उपस्थितिमा नष्ट गरिएको छ।
प्रकाशित :- २०८१ असार १२, गते बुधबार