
कैलालीको घोडाघोडीमा बालबालिका सम्बन्धी योजनाको बिहीबार समीक्षा गरिएको छ । बालबालिका सम्बन्धी पञ्चवर्षीय कार्य योजना निर्माण गरेको नगरपालिकाले योजना कार्यान्वयनको अवस्था तथा प्रभावकारिता पहिचान गर्न कार्यक्रमको आयोजना गरेको हो ।
बालबालिकाका क्षेत्रमा काग गर्ने गैर सरकारी संस्था बाल कल्याण सङ्घ टिकापुर सँगको साझेदारीमा नगरपालिकाले २०७८ सालमा बालबालिका सम्बन्धी पञ्चवर्षीय योजना निर्माण गरेको थियो । ५ वर्षको अवधिमा ६५ वटा विभिन्न शीर्षकमा कार्यक्रम गर्ने कार्य योजनामा उल्लेख छ । यसलाई आधार मान्दा वर्षमा १३ वटा बालबालिका सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने हो तर कार्य योजना निर्माण भएको ३ वर्ष पुग्नै लाग्दा समेत कार्य योजना कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको सहभागीहरूको भनाई छ । नगरपालिकाले बालबालिका सम्बन्धी ठोस र उपलब्धि मूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र त्यसको नियमनको व्यवस्था समेत मिलाउनु पर्ने कुरामा सहभागीहरूले जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख खडकबहादुर रावतले बालबालिकाका सवालहरू नीति तथा कार्यक्रममा समेट्दै निरन्तरता दिने बताए । “हामीले पालिका स्तरीय बाल क्लब गठनको आवश्यकता महसुस गरेका छौ । मनोसामाजिक परामर्श अनिवार्य जस्तै भएको छ । सार्थक ढङ्गले यसको कार्यान्वयन गर्न हामी तयार छौ । बालबालिका अन्य सवारमा पनि हामी गम्भीर छौ । प्राप्त सुझावका आधारमा हामी नीति तथा कार्यक्रममा समावेश गर्छौ ।” मेयर रावतले भने ।
के–के भए उपलब्धि ?
नगरपालिकाले बाल कार्य योजना निर्माण सँगै कार्यान्वयनको पाटोलाई समेत अघि बढाएको दबी गरेको छ । साझेदार संस्था बाल कल्याण सङ्घका तर्फबाट किशन चौधरीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार बाल कार्य योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा एउटा परियोजना परिचयात्मक बैठक सञ्चालन भएको छ । पालिका भरी ८ वटा रूपान्तरण कक्षा सञ्चालन, लागु औषध दुर्व्यसनी सम्बन्धी २२ वटा अन्तरक्रिया कार्यक्रम, १० वटा वडामा घटना व्यवस्थापन परिचालन कार्यक्रम सञ्चालन, ८ वटा सकारात्मक अभिभावकत्व कार्यक्रम सञ्चालन गरिएको छ भने जोखिममा रहेका ५ जना बालबालिकालाई आपतकालिन सहयोग गरिएको छ ।
यस्तै १५ जना रूपान्तरण कक्षाका शिक्षकलाई तालिम, एउटा नगर स्तरीय बाल भेला, एउटा बालविवाह सम्बन्धी सडक नाटक, २० वटा आत्मरक्षा तालिम सञ्चालन गरिएको छ भने इलाका प्रहरी कार्यालय सुखडमा रहेको महिला तथा बालबालिका सेललाई प्रिन्टर, कार्पेट, कुर्ची, पानी बोतल, फोटोकपी पेपर र सेनेटरी प्याड वितरण गरिएको छ । साझेदार संस्था, वडा तथा पालिकाको सहकार्यमा यस्ता कार्यक्रमहरू गरिएका हुन ।







प्रकाशित :- २०८१ असार ६, गते बिहीबार