
अमेरिकामा जारी नवौँ संस्करणको आईसीसी टी२० विश्वकप क्रिकेट २०२४ मा नेपालले पहिलो खेलमा नै पराजित भएको छ । गएराति सम्पन्नमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएसँगै हारबाट विश्वकपको सुरुवात गरेको हो ।


नेपालले दिएको १ सय ७ रनको झिनो लक्ष्य नेदरल्याण्डले १८ ओभर ४ बलमा मात्रै ४ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ३ ओभरमा नेदरल्याण्डलाई जितका लागि १९ रनको चाहिएको थियो । सोमपाल कामीको १८ औं ओभरमा नेदरल्याण्डले मात्रै ६ रन जोड्न सक्यो । उक्त ओभरमा म्याक्स ओ’डाउडको क्याच कप्तान रोहित कुमार पौडेलले छोडेका थिए ।
अविनाश बोहोराको १९ औं ओभरको पहिलो र दोस्रो बलमा ओ’डाउडले चौका र छक्का प्रहार गर्दै खेल नेपालको हातबाट टाढा लागेका थिए । तेस्रो बलमा उनले १ रन लिए । चौथो बलमा डे लिडेले चौका प्रहार गर्दै नेदरल्याण्डलाई जित दिलाएका थिए ।

ओ’डाउडले ४८ बलमा ४ चौका र १ छक्कासहित ५४ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा डे लिडे १० बलमा ११ रन बनाएर अर्कोतर्फ अविजित रहेका थिए ।

रन रोक्न सफल रहे पनि विकेट निकाल्न नसक्दा अन्ततः नेपाल जित विहीन बन्न पुग्यो । नेपालले दोस्रो ओभरमै डच ओपनर माइकल लेभिटलाई आउट गर्दै पहिलो विकेट लिएको थियो । लेभिट सोमपाल कामीको बलमा १ रन बनाएर दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भएका थिए । तेस्रो नम्बरमा आएका विक्रमजित सिंहलाई नवौ ओभरमा दिपेन्द्रले २२ रनमा एलबीडब्लू आउट गराए । उनले २८ बलमा ४ चौका प्रहार गरे ।

तेस्रो विकेटका रुपमा साइब्राण्ड एङगलब्रेक्टले १६ बलमा १४ रन बनाएर १४ औ ओभरमा सोमपालको हातबाट रनआउट भए । सोही ओभरमा स्कट एडवार्ड्स आउट भए पनि रिभ्यु लिएर क्रिजमा रहन सफल रहेका थिए । तर १६ औ ओभरमा उनी अविनाश बोहोराको बलमा ५ रन बनाएर बोल्ड भए । त्यसपछि भने कुनै विकेट खस्न नसक्दा नेपाल पराजय भोग्न बाध्य भयो ।

नेपालका लागि सोमपाल कामी , दिपेन्द्र सिंह ऐरी र अविनाशले समान १ विकेट हात पारे । सोमपालले ४ ओभरमा १८ रन खर्चिँदा दिपेन्द्रले २ ओभरमा ६ रन मात्र दिए भने अविनाशले ३.४ ओभरमा २९ रन दिए ।

त्यसअघि अमेरिकाको डालास शहर स्थित ग्राण्ड प्रेरी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर २ बलमा १ सय ६ रनको सामान्य योगफलमा समेटिन पुग्यो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३७ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३५ रन बनाए । एउटा इण्डबाट उनले इनिङ सम्हाले पनि अर्को इण्डबाट विकेट पतन नरोकिएपछि उनले राम्रो साथ भने पाउन सकेनन् ।
नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो । खराब सुरुवात पछि कप्तान रोहितले एकतर्फ डटेर क्रिजमा रहिरहेका थिए ।
ओपनर आसिफ शेख दोस्रो ओभरको अन्तिम बलमा टिम प्रिन्गलको बलमा सट थर्ड म्यानमा भिभियन किन्ग्माद्वारा क्याच आउट भए । उनले ८ बलमा ४ रन बनाए । तेस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल लोगन भ्यान बिकको शिकार बने । उनलाई भ्यान बिकले एलबिडब्लुको धरापमा पारे ।
तेस्रो विकेट पनि प्रिन्गलले नै लिए । आठौँ ओभरको चौथो बलमा अनिल कुमार शाह स्विप सट खेल्ने क्रममा लोगन भ्यान बिकद्वारा क्याच आउट भए । अनिलले १२ बलमा २ चौका सहित ११ रन बनाएका थिए ।
केहि आशा लाग्दो सुरुवात गरेका कुशल मल्लले पनि ठूलो स्कोर बनाउन सकेनन् । उनलाई पल भ्यान मिकरनले १० औ ओभरमा म्याक्स ओ’डाउडको हातबाट ९ रन बनाउँदा क्याच आउट गराए । दीपेन्द्र १ रन बनाएर बास डे लिडेको बलमा स्लिपमा क्याच आउट भए ।
सोमपाललाई १४ औ ओभरमा भ्यान मिकरनले शुन्यमा बोल्ड गरे । त्यसपछि सातौँ विकेटका लागि रोहित र गुलशन झा मिलेर सम्हालिएको ब्याटिङ गरेका थिए । सो साझेदारी प्रिन्गलले १६ औ ओभरमा रोहितलाई आउट गरेर तोडे ।
करणले केही विस्फोटक अन्त्य गर्ने प्रयास गरे । १२ बलमा २ छक्कासहित १७ रन बनाएर उनी १९ औ ओभरमा डे लिडेको शिकार बने । गुलशनलाई भ्यान बिकले १५ बलमा १४ रन बनाएको अवस्थामा बोल्ड आउट गरे । अविनाश बोहोरा पनि भ्यान बिकद्वारा पहिलो बलमा शून्यमा बोल्ड भए ।
नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३ विकेट लिए । प्रिन्गलले ४ ओभरमा २० रन दिए भने भ्यान बिकले ३.२ ओभरमा १८ रन दिए । भ्यान मिकरन र डे लिडेको नाममा २/२ विकेट रह्यो ।
नेपालले अब समूहमा आफ्नो दोस्रो खेल जुन ११ मा श्रीलंका विरुद्ध खेल्नेछ । सो खेल फ्लोरिडामा हुनेछ । त्यसपछि दक्षिण अफ्रिका र बंगलादेश विरुद्ध खेल्न नेपाल वेस्ट इन्डिज प्रस्थान गर्नेछ ।