महोत्तरी: महोत्तरीको मटिहानी नगरपालिका-६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । तीव्र हावा चलिरहेको बेला दिउँसो करिब २ बजे आगलागी भएको थियो ।
बेलुका अबेरसम्म आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।
उनका अनुसार आगलागीबाट मटिहानीमा करिब १ सय घर जलेका छन् । घटनासम्बन्धी विस्तृत विवरण आजसम्म मात्रै थाहा पाउन सकिने छ । घरबारविहिन बनेका मटिहानीका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले तत्काल त्रिपाल लगायतका राहत सामग्री प्रदान गरेको छ ।
आगलागीबाट पाँच खसी बाख्रा र दुई सुँगुर समेत मरेका प्रहरीले जनाएको छ । बस्ती भरि फैलिएको आगो निभाउन १० वटा दमकल प्रयोग गरिएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र भारतीय सुरक्षाकर्मीसहित स्थानीयको सहयोगमा आगो निभाइएको हो ।