कैलाली : शुक्रबारदेखि सुरु भएको १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक चेन्नाई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न उद्घाटन खेलमा बैङ्लोरमाथि ६ विकेटको जित हात पार्दै चेन्नाईले विजयी सुरुवात गरेको छ ।
बैङ्ग्लोरले दिएको १ सय ७४ रनको चुनौतीपूर्ण लक्ष्य चेन्नाईले १८.४ ओभरमा मात्रै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
उसको जितमा ओपनरद्वय कप्तान रुतुराज गायक्वाडले १५ र रचिन रविन्द्रले ३७ रन बनाए । त्यस्तै अजिन्क्या रहानेले २७, डेरिल मिचेलले २२ रन जोड्दा शिवम् दुवे ३४ र रविन्द्र जडेजा २५ रनमा अविजित रहे ।
बलिङतर्फ बैङ्ग्लोरका क्यामरुन ग्रीनले २ विकेट हात पार्दा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।
त्यसअघि चेन्नाईमा टस जितेर पहिला ब्याटिङ गरेको बैङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनायो । उसका लागि अनुज रावतले सर्वाधिक ४८ रन, कप्तान फाप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन जोड्दा दिनेश कार्तिक २८ रनमा अविजित रहे । त्यस्तै क्यामरुन ग्रीनले १८, रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा पेभिलियन फर्किए ।
चेन्नाईका लागि मुस्तफिजुर रहमानले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै दीपक चहरले एक विकेट लिए ।
उद्घाटन समारोहमा भारतीय कलाकारहरू अक्षय कुमार, एआर रहमान, सोनु निगम, मोहित चौहान, निती मोहन लगायतले प्रस्तुति राखेका थिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने पहिलो खेल पञ्जाब किङ्गस र दिल्ली क्यापिटलस तथा आजको दोस्रो खेलमा राति पौने ८ बजे कोलकाता नाइट राइडर्स र सनराइज हैदराबाद खेल्ने समय तालिका रहेको छ ।