काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफल प्रहरीको फन्दामा परेका छन् । आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गोरखाकी १३ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु प्रकरणमा अस्पतालले पोस्टमार्टम गर्दै निकालेको रिपोर्टबारे असन्तुष्टि जनाउँदै आन्दोलित बनेका थिए । झुन्डिएर पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएको जनाइएको छ ।
प्रहरीले पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको जानकारी गराएको छ ।
यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका-१०, स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुन्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ । तर अस्पतालको रिपोर्ट भने त्यसको विपरीत आएपछि सफल र गौतम आन्दोलन गर्न त्रिवि शिक्षण अस्पताल अघि पुगेका थिए ।