कञ्चनपुर प्रहरीले शनिवार पक्राउ गरेका दुई जनालाई समाचार लेखेकाले नभई उनीहरू विरुद्ध जाहेरी परेकाले नियन्त्रणमा लिएको बताएको छ । पत्रकारलाई पक्राउ गरेको सन्दर्भमा निर्भीक पोस्टले गरेको कुराकानीमा सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरी विद्युतीय कारोबार गरेको भन्ने जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
“उनीहरू के पेसा गर्छन् त्यो फरक कुरा हो । उनीहरूले प्रहरी विरुद्ध समाचार लेखेका कारणले पक्राउ गरिएको भन्ने भाष्य स्थापित गर्न खोजिएको छ तर त्यसो होइन । उनीहरू विरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्ने जाहेरी र अदालतको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएको हो ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले भने ।
उनका अनुसार उनीहरू विरुद्ध माघ २६ गते जाहेरी परेको थियो । प्रहरीले जाहेरी नलिए अन्यत्र कानुनी निकायमा गएर भए पनि आफूले न्यायको लडाई लड्ने बताए पछि प्रहरीले जाहेरी लिन मानेको थियो । शनिवार पक्राउ परेका उनीहरूलाई आइतबार म्याद थप गरी अनुसन्धान गरिने छ । प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय पुष्कर भट्ट र वडा नम्बर ५ की ३३ बर्सिया ऐश्वर्या कुँवरलाई शनिवार पक्राउ गरेको हो । उनीहरूले कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आएको समेत बुझिएको छ ।
प्रकाशित :- २०८० माघ २७, गते शनिबार