इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका नारायण न्यौपानेको परिवारलाई घोडाघोडी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । मृतक न्यौपानेको ११ औँ दिनको पुण्य तिथिका अवसरमा नगर सरकारले उक्त सहयोग प्रदान गरेको हो ।
मृतक न्यौपानेका परिवारलाई नगरपालिकाले नगद १ लाख १ हजार र वडा नम्बर ४ का वडा अध्यक्ष भरतबहादुर शाहीले आफूले पाउने सेवा सुविधाबाट २० हजार सहयोग गरेका छन् ।
घोडाघोडी नगर प्रमुख खडक बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, नगर प्रवक्ता घनश्याम ओझा, वडा नम्बर ४ का अध्यक्ष भरत शाह लगायतका प्रतिनिधिहरू वडा नम्बर ४ स्थित उनको घरमा पुगेर सहयोग हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण गर्दै मेयर रावतले नारायणको मृत्युले नगरपालिका नै शोकमा रहेको भन्दै मृतकका घर परिवारलाई स्थानीय सरकारबाट हुने सम्पूर्ण सहयोगका लागी आफू तयार रहेको आश्वासन दिए ।
यस अघि सङ्घीय सरकार र प्रदेश सरकारले राहत दिने घोषणा गरे पनि मृतकका आफन्तले अहिले सम्म सरकारी पक्षबाट आश्वासन समेत पाएका छैनन् । हामीले समाचार पढेर सरकारले मृतकका आफन्तलाई राहत दिने भन्ने जानकारी पायौ । मृतकका मामा हेमराज जोशीले भने,… “राहतका विषयमा सरकारी पक्षबाट हाल सम्म कुनै समन्वय भएको छैन । दिन्छ भन्छ की भन्ने आस छ तर विश्वास भने छैन ।”



प्रकाशित :- २०८० कार्तिक १६, गते बिहीबार

