समाचार सारांश
- • निधन भएका व्यक्तिहरूको पार्थिव शरीरलाई केही समय सुरक्षित राख्न गाउँपालिकाले निःशुल्क सेवा सञ्चालन गरेको हो ।
- • आफूहरूले जनताका आवश्यकतालाई मसिनो ढङ्गले केलाउँदै काम गर्ने र नागरिकलाई सरकार भएको अनुभूति दिलाउने गरी काम गरिरहेको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।
- • निरन्तर जनपक्षिय काम गर्दै आएको गाउँपालिकाको अर्को जनपक्षिय कामबाट गाउँवासी खुसी भएका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकाले शुक्रवारबाट शव चिस्यान सेवा सञ्चालन गरेको छ । निधन भएका व्यक्तिहरूको पार्थिव शरीरलाई केही समय सुरक्षित राख्न गाउँपालिकाले सेवा सञ्चालन गरेको बताइएको छ ।
गाउँपालिकाले सेवा सञ्चालनका लागि २ वटा विद्युतीय चिस्यान यन्त्र खरिद गरेको छ भने नागरिकहरूका लागि यो सेवा निःशुल्क हुने छ । शव चिस्यान सेवाबाट रोजगारीको सिलसिलामा देश बाहिर रहेका र आफन्तको निधनमा समयमै घर पुग्न नसक्नेहरूलाई केही राहत हुने अपेक्षा गरिएको छ । “आफन्तको निधन भयो भने बाहिर रहेकाहरूले मृतक सँगको मुख भेट नै नपाउने समस्या थियो । त्यसैलाई मध्यनजर गरेर हामीले यो सेवा सञ्चालन गरेका हौ । अव आफन्तको निधन पछि पनि धेरैले मुख भेट पाउने छन् ।” गाउँपालिकाका प्रवक्ता मिथुन गौतमले भने ।
आफूहरूले जनताका आवश्यकतालाई मसिनो ढङ्गले केलाउँदै काम गर्ने र नागरिकलाई सरकार भएको अनुभूति दिलाउने गरी काम गरिरहेको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “हामी यो शव चिस्यान कसैलाई आवश्यकै नपरे हुन्थ्यो । मानिसहरूको निधन नै नभएको हुन्थ्यो । भए पनि सबै घरपरिवार सँगै भए हुन्थ्यो सोच्छौ तर के गर्नु हामी नेपालीको बाध्यता अर्कै छ । प्राय युवापुस्ता विदेश हुने बा/आमा वा अन्य आफन्त मर्दा परदेश गएकाहरूले मुख देख्न नपाउने समस्या छ । यही बाध्यतालाई हेरेर हामीले अन्तिम पटक मुख भेट गराउन चिस्यान सेवा सुरु गरेका हौ ।” अध्यक्ष कुँवरले भने ।
उनका अनुसार आवश्यकताका आधारमा चिस्यान यन्त्र थप्दै जान सकिने छ । हाललाई दोदोधारा अस्पताल मार्फत सो सेवा सञ्चालन भएको छ । आवश्यक भएकाहरूले घरमा चिस्यान यन्त्र लैजाने र पार्थिव शरीरलाई केही समय सुरक्षित राख्न सक्ने बताइएको छ । निरन्तर जनपक्षिय काम गर्दै आएको गाउँपालिकाको अर्को जनपक्षिय कामबाट गाउँवासी खुसी भएका छन् ।





