नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव एवम् नेपाली क्रान्तिका सिद्धान्तकार स्वर्गीय पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा प्रेस चौतारी नेपालले वृक्षारोपण गरेको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाको आयोजना तथा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको सहकार्यमा बुधबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको राजकुला सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।
जनबायु परिवर्तनले मानवीय जीवनमा पारिरहेको असर कम गर्नका लागी वन जोगाउनु पर्ने सन्देश दिन वृक्षारोपण गरिएको प्रेस चौतारी नेपाल कैलालीका अध्यक्ष जनक सिंह विष्टले बताए । “आज नेपाली क्रान्तिका अगुवा, नेपाली जनताको स्वतन्त्रताका निम्ति सक्रिय भूमिका निर्वाह गर्ने नेता श्रेष्ठको स्मरण र चर्चा गर्ने दिन । यही अवसर पारेर हामीले वातावरण संरक्षणको सन्देश दिन वृक्षारोपण गरेका हौ । यो क्षेत्रलाई पुष्पलाल वाटिकाका रूपमा विकास गर्न आवश्यक छ ।” उनले भने ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल, केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज सुशील ढुङ्गाना, केन्द्रीय सदस्य तथा प्रदेश सह–इन्चार्ज चाँदनी आचार्य, केन्द्रीय सामाजिक सञ्जाल विभाग प्रमुख कृष्ण ओली, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भीम कुँवर, एमाले कैलाली अध्यक्ष यज्ञ ढुङ्गाना, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज हरि जोशी, पूर्व सुदूरपश्चिम इन्चार्ज गोविन्द रोस्यारा, पूर्व केन्द्रीय लेखा आयोग सदस्य लिलाजंग शाही, एमाले पूर्व जिल्ला कमिटी सदस्य एवम् वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, एमाले गाउँ कमिटी मधुकर सिजापति मगर, गाउँ कमिटी उपाध्यक्ष एवम् वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द बि।क।, राजकुला सामुदायिक वनका अध्यक्ष भक्तबहादुर बिठारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली आन्दोलन र कम्युनिस्ट बीजारोपणमा स्वर्गीय पुष्पलाल श्रेष्ठको भूमिकाको चर्चा र स्मरण गर्दै वृक्षारोपण गरेर वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रेस चौतारीलाई धन्यवाद समेत व्यक्त गरे ।


