कैलालीको लम्कीचुहा नगरपालिका–६ स्याउलेमा अटोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की घाइते भएकी छन्।
पूर्व–पश्चिम राजमार्गमा बुधबार साँझ करिब ८ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको म १ ह ८५८ नम्बरको अटोले सोही दिशातर्फ हिँड्दै गरेकी पैदल यात्री ५५ वर्षीया लक्ष्मी ढुङगाना र २२ वर्षीया मिना ढुङगानालाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते दुबैजनालाई तत्कालै भल्का अस्पताल, लम्की हुँदै कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा लक्ष्मी ढुङगानाको राति १०:२० बजे मृत्यु भएको हो। मिना ढुङगानाको कोहलपुरमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटनामा संलग्न अटो चालक २३ वर्षीय हेमन्त जोशीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।




