कैलालीको मोहन्याल गाउँपालिकामा वन जोगाउने उद्देश्यले उपभोक्तालाई बुधवार ग्यास चुलो वितरण गरिएको छ । पालिकाको वडा नम्बर १ चायाभावरमा रहेको कोपिला सामुदायिक वन उपभोक्ता समितिले आफ्ना १ सय ४८ जना उपभोक्तालाई १० लाख ३६हजार बराबरका ग्यास चुलो वितरण गरेको हो ।

उपभोक्ताहरूले दाउरा सङ्कलन गर्दा वन फडानी गर्ने, गोलियाहरू टुक्राउने लगायतका समस्या देखिन थालेपछि आफूहरूले ग्यास चुलो वितरण गरेको सामुदायिक वनका अध्यक्ष गणेश बहादुर बुढा मगरले बताए । “दाउरा चाहियो भनेर साना साना बुट्यानहरू काट्न थाले । कतै रुख ढलेको भए चिरेर दाउरा बनाउन थाले । नकाट भने नमान्ने, चोरी चोरी काट्न थाले । अनि त्यसको लागी ग्यास बाडेका हौ । घरमा ग्यास भए त दाउरा कम प्रयोग हो नि हैन ?” उनले भने । 
सामुदायिक वनले ग्यास बाडेपछि उपभोक्ता रूप बस्नेतको मुहारमा खुसी छाएको छ । ग्यास दिन लाइनमा बसेकी उनी दाउरा प्रयोगले कामका लागी समय बचत नहुने, धुवा जन्य रोगहरू बढ्ने, आवश्यक पर्दा बालबालिकाहरूले समयमै खान नपाउने समस्या रहेको पनि सुनाइन । “हुन त चारैतिर जङ्गल छ । प्राय सबैले दाउरा नै बाल्छन् । केही कोहीले ग्यास बाले पनि त्यो सकियो भने अर्को ग्यास साट्न बौनिया, सुखड (करिब ५/७ किलोमिटर टाढा) पुग्नु पर्ने बाध्यता थियो । अब वनले डेढ सय ग्यास बाडेपछि सायद यतै साट्ने मिल्ने हुन्छ की ।” उनले भनिन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा समेत काम गर्दै आएको यस वनले बाख्रा वितरण, मिटर बक्स वितरण, खानेपानी मर्मत, सडक ग्राभेल, सिचाई, विपन्न बिरामी सहयोग कार्यक्रम, शैक्षिक छात्रवृत्ति लगायतका कामहरू समेत गर्दै आएको छ ।





