कैलालीको धनगढी-५ हसनपुरमा रहेको बालबालिका मन्टेश्वरी स्कुलले शुक्रवार आफ्नो ५ औँ वार्षिकोत्सव मनाएको छ । विद्यालयका संस्थापक ज्ञानु जोशीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा धनगढी उप–महानगरपालिकाका निवर्तमान मेयर नृपबहादुर वड रहेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक झल्की नृत्य, गायन तथा जनचेतना मूलक नाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै अभिभावकहरूले छोटो समयमा स्कुलले राम्रो गति समातेको भन्दै आफ्नो सपना साकार र बालबालिकाको भविष्य उज्ज्वल हुनेमा विश्वस्त रहेको बताएका छन् । स्कुल व्यापार नभई सामाजिक सेवा भावले सञ्चालन भएको अनुभूति गरेको र यसलाई थप व्यवस्थित गर्न सरकार, विद्यालय र अभिभावक एकबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिइएको थियो ।
यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै निवर्तमान मेयर वडले विद्यालय र विद्यार्थीहरूको भविष्य उज्ज्वल रहेको बताए । म २ सय भन्दा बढी स्कुलहरूका यस्ता कार्यक्रमहरूमा सहभागी भएको छु तर यहाँ आउँदा अलि फरक अनुभव गर्न पाए । विद्यार्थीहरूको हरक प्रस्तुतीमा राष्ट्र प्रेम, कर्मचारीहरूको अनुशासन र अभिभावकहरूको दृढ विश्वास देखे । अझै विद्यालयका कर्मचारी सबै महिला मात्रै हुनुहुँदो रहेछ । यो भनेको महिला एकता, महिला शक्ति र समाज परिवर्तनको रूपमा बुझेको छु । उनले भने ।
फरक प्रसङ्गमा बोल्दै उनले लागूपदार्थ दुव्र्यशनी धनगढीमा भयावह अवस्था सृजना हुन थालेकाले विद्यालय, अभिभावक, सरकार र आम सरोकारवालाहरू एक भएर लाग्नु पर्ने बताए । लागुऔषधको केशमा मेरो बच्चा प्रहरी पक्रियो, छुटाइदिनु प¥यो, भनिदिनु प¥यो भनेर दिनमा करिब ४० जनाको फोन आउँछ । अवस्था यस्तो छ । सरकारले यसका लागी विशेष योजना ल्याउनु पर्ने हो तर त्यसो गरेको पाइँदैन । उनले थपे । वार्षिकोत्सव कार्यक्रमको सञ्चालन गुणाकर पनेरु र संस्थापक सृष्टि हुमागाईँले गरेका थिए ।



