कैलालीको गोदावरी नगरपालिका क्षेत्रका नदीबाट नियन्त्रणमा लिएका २९ वटा सवारीलाई झन्डै ७ लाख जरिबाना गरिएको छ । कैलालीको गोदावरी र खुटिया खोलाबाट नियन्त्रणमा लिएका २९ सवारीलाई ६ लाख ९५ हजार जरिबाना गरिएको हो ।

नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति, कैलालीको आइतवारको बैठकले नियन्त्रणमा लिएका २९ सवारीलाई जरिबाना गर्ने निर्णय गरेको छ। समितिले गोदावरी नगरपालिकालाई जरिबाना गर्न पत्राचार गरेको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐनको अनुसूची ६ बमोजिम कारबाही गर्न भनिएको हो ।
गोदावरी नगरपालिकाबाट नदीजन्य पदार्थको ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई समेत कारबाही गर्न भनिएको छ ।गोदावरी नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएका स्काभेटहरुलाई ५०/५० हजारका दरले जरिबाना गर्न भनिएको हो । टिप्परहरूलाई ३०/३० हजार र ट्याक्टरहरूलाई १५/१५ हजारका दरले कारबाही गर्न भनेको हो ।
तर, निर्माण कम्पनीलाई जरिबाना रकमको विषय उल्लेख गरिएको छैन् । वातावरणीय प्रभाव मूल्याङ्कन नगरको खुटिया खोलामा अवैध दोहन गर्ने निर्माण कम्पनीलाई नगर कार्यपालिकाको बैठकले निर्णय गरेर कारबाही गर्न समितले भनेको हो ।
नगरपालिकालाई जरिबाना गरिएको भौचर तथा रसिदसहितको प्रमाणित प्रतिलिपिको विषयमा जानकारी गराउन भनिएको छ । गिट्टी, ढुङ्गा, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ को दफा ९ अनुसारको गठन गरिएको जिल्ला अनुगमन समितिको बैठकले कारबाहीका लागि पत्राचार गरेको हो ।
समितले गोदावरी नगरपालिका-९ सेहरीस्थित खुटिया खोलाबाट २ स्काभेटर, सात ट्याक्टर र १७ ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । समितिले गोदावरी नगरबाट २ स्काभेटर र एक टिप्परलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो ।



