पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको १९ वर्षमुनिको नेपाली महिला टोली आज मलेसिया जाँदैछ । टोली दिउँसो त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

१९ वर्षमुनिको आईसीसी महिला टी-२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीलाई हिजो बिदाइ गरिएको थियो । गएको महिना भएको १९ वर्षमुनिको एशिया छनोटमा च्याम्पियन बन्दै नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाएको थियो ।
१९ वर्षमुनिको महिला टी-२० विश्वकप आउँदो जनवरी १८ तारिख अर्थात् माघ ५ गतेदेखि फेब्रुअरी २ तारिख अर्थात् माघको २० गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड रहेका छन् । नेपालले पहिलो खेलमा माघ ५ गते बङ्गलादेशको सामना गर्दै विश्वकपको सुरुवात गर्नेछ ।
यस्तै नेपालले आफ्नो दोस्रो खेल माघ ७ गते स्कटल्यान्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने खेल तालिका रहेको छ ।
हरेक समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । नेपाल पनि यो विश्वकपको सुपर सिक्समा पुग्ने लक्ष्य रहेको कप्तान पूजा महतोले बताएकी छन् । क्यानले महतोको कप्तानीमा यसअघि नै १५ सदस्यीय टोली घोषणा गरिसकेको थियो ।



