कैलालीको घोडाघोडीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको ३९ औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी शुक्रबारदेखि सरू भएको छ ।
जिल्लाको घोडाघोडी-१ मा अवस्थित घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा शुक्रबारदेखि दुई दिने गोष्ठी सुरु भएको हो । उक्त गोष्ठीमा जिल्ला भरिका १ सय ३९ विद्यालयका विद्यार्थीहरू सहभागी भएका छन् । जसमा प्रत्यक्ष विद्यालयबाट २ जना रेडक्रसमा आबद्ध विद्यार्थी र एक जना शिक्षक गरी तीन जना सहभागी भएका आयोजकले जनाएको छ । आज पहिलो दिन औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरिएको छ । त्यसलगत्तै आज र भोलि बन्द सत्र चलेर भोलि समापन हुने छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य तथा जुनियर तथा युवा रेडक्रस कैलालीका संयोजक रङ्ग प्रसाद तिमिल्सैनाको सभापतित्वमा सुरु भएको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मेघराज खड्का रहेका थिए । केन्द्रीय रेडक्रस सोसाइटीका पदाधिकारी, जिल्ला रेडक्रस सोसाइटीका पदाधिकारी, नगरपालिका प्रमुख, उपप्रमुख, अन्य जनप्रतिनिधि, प्राध्यापक, शिक्षक विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रमको औपचारिक रुपमा मन्त्री खड्काले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले आजको चुनौती विपद् व्यवस्थापन र जलवायु परिवर्तनको रहेको बताएका थिए । पछिल्लो समयमा मानवीय क्रियाकलापले गर्दा पनि यस्ता किसिमका समस्या उत्पन्न भएको र जसलाई व्यवस्थापन गर्न निकै गाह्रो चुनौती रहेको बताए ।
यस्तै सामाजिक विकास मन्त्री मेघराज खड्काले कार्यक्रममा बोल्दै विद्यार्थीहरू समाज सेवामा, सामाजिक क्षेत्रमा, विपद् व्यवस्थापनमा रेडक्रस सोसाइटी जस्तो संस्थामा आबद्ध भएर अघि बढेको प्रति कृतज्ञता प्रकट व्यक्त गरेका थिए ।


