नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको आईसीसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित कुमार पौडेल एक स्थान तल झर्दै ६१ औं स्थानमा पुगेका छन् । यस्तै दिपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ४६ औं, आसिफ शेख दुई स्थान तल झर्दै ७३ औं स्थानमा पुगेका छन् ।
टी-२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा रहँदा भारतका सूर्यकुमार यादव दोस्रो स्थान तथा इङ्ग्ल्याण्डका फिल साल्ट तेस्रो स्थानमा यथावत रहेका छन् ।

यसैगरी टी-२० बलिङ वरीयतामा सोमपाल कामी ९३ औं र दिपेन्द्रसिंह ऐरी ९७ औं स्थानमा यथावत छन् । यो वरीयतामा इङ्ग्ल्याण्डका आदिल रसिद शीर्ष स्थानमा रहँदा वेस्ट इन्डिजका अकेल होसेन चार स्थान सुधार गर्दै दोस्रो र वेस्ट इन्डिजकै गुदाकेश मोटी १० स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यसैगरी टी-२० वरीयताको अलराउण्डरतर्फ भने गुल्सन झा र कुशल भुर्तेल समान दुई स्थान सुधार गर्दै क्रमशः ६९ औं र ७० औं स्थानमा आइपुगेका छन् । यस्तै करण केसी एक स्थान सुधार गर्दै ७५ औं स्थानमा आइपुग्दा दिपेन्द्रसिंह ऐरी सातौँ, कुशल मल्ल ३७ औं तथा कप्तान रोहित पौडेल ५५ औं स्थानमा यथावत् छन् ।
यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा र बङ्गलादेशका शकिब अल हसन तेस्रो स्थानमा यथावत् छन् ।
