कैलाली : नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले समर्थन फिर्ता लिएसँगैमुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।
एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषदको कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको बताए । मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले टेलिफोन मार्फत जानकारी गराइएको रावलले जनाएका हुन् । उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थन फिर्ता लिएका छौं । आजका मितिबाट लागू हुने गरेर पत्र पठाएका हो । मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौं ।’
योसँगै एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले राजीनामाको पत्र पठाएका हुन् । एकीकृत समाजवादीको महाधिवेशनका लागि मुख्यमन्त्री सोडारी सङ्घीय राजधानी काठमाडौंमा छन ।
मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा हुँदै अल्प मतमा परेका छन् ।


