सुखड :मङ्गलवार राती देखि परेको अविरल रूपमा परेको वर्षाका कारण आएको बाढीका कारण कैलालीको घोडाघोडीमा दुई ओटा पुल बगाएको छ । नदीमा आएको बाढीले काठे पुल बगाएपछि आवागमनमा निकै सास्ती भएको छ ।

घोडाघोडी नगरपालिकाको बौराहा खोलामा आएको बाढी र कौवा खोलामा आएको बाढीले वडा नम्बर ८ तारानगर स्थित काठेपुल बगाउँदा विद्यालय जाने बालबालिका विद्यालय जानबाट वञ्चित हुने अवस्था आएको छ । उक्त वडाका वीरबहादुर साउँदका अनुसार बाढीले पुल बगाउँदा विद्यालय हिँडेका विद्यार्थी पुल भाँचिएपछि विद्यालय घुमाउरो बाटो साँडेपानी र बेलकोट हुँदै जानुपरेको छ । तारानगर, तिलकेनी, जरै, बछुरियाका विद्यार्थी तथा स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
नदीको पारीपट्टि राष्ट्रिय माध्यमिक विद्यालय तारानगर रहेको छ । पुल तरेर विद्यालय जाने विद्यार्थी बाढीले पुल भाँचे पछि त्रैमासिक परीक्षा चलिरहेको विद्यालयमा बुधवारको परीक्षा दिन घुमाउरो बाटो प्रयोग गरेर जान बाध्य भएको जनाइएको छ ।
त्यसै गरी नगरपालिका कै वडा नम्बर ५ र ७ जोड्ने चोङ्गालीपुर र राजीपुर बिचको काठे पुल पनि बगाएको छ । पुल बगाएपछि दरख माध्यमिक विद्यालय हरीनगर पढ्न आउने विद्यार्थीहरू विद्यालय आउनबाट वञ्चित भएका छन् । परीक्षा चलेका कारण पाँच किलोमिटर घुमेर विद्यालय आउन बाध्य भएको जनाइएको छ ।
बाढीले दुवै काठेपुल बगाएको खोलामा पक्कि पुल निर्माणाधीन अवस्थामा रहेका छन् । पक्किपुल निर्माण कार्यमा ढिला सुस्ती भएपछि स्थानीले सास्ती खेप्नु परेको छ ।
गए राती आएको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग केन्द्रले जनाएको छ । कान्द्रा नदीको बाढी पसेपछि वडा नम्बर ५ को फारम सरैया गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गरिएको वडाध्यक्ष लोकबहादुर चन्दले बताए ।

साथै वडा नं ३ र ५ जोड्ने काठे पुल पनि बगाएको वडा नं ३ का अध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।


