समाचार सारांश
- • हाल जिम्मेवारीमा रहेका प्रधानाध्यापकहरूलाई यस अघि जिम्मेवारी पाएको विद्यालयमा जान नगरपालिकाले साउन २८ गते पत्राचार गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाले नियुक्त गरेका प्रधानाध्यापकलाई फिर्ता बोलाएको छ। पालिकाले स्थानीय शिक्षा ऐन जारी गरि प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरेको थियो । तर सो स्थानीय ऐन सङ्घीय ऐन सँग बाझिएकाले प्रधानाध्यापक नियुक्ति प्रक्रिया रोक्नु पर्ने भन्दै अदालतमा मुद्दा परेको थियो ।
उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्ति प्रक्रिया रद्द गर्न नगरपालिकाको नाममा आदेश जारी गरेको भए पनि पालिकाले भने अदालतको आदेश कार्यान्वयन गर्न अटेरी गरेको थियो । अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै नगरपालिकाको नाममा पुनः अवहेलना मुद्दा दर्ता भएपछि मात्रै पालिकाले अदालतको आदेश कार्यान्वयनमा चासो देखाएको हो ।
सो अनुसार गत साउन २७ गते बसेको कार्यपालिकाको बैठकबाट आदेश कार्यान्वयन गर्ने निर्णय गर्दै प्रधानाध्यापकहरूलाई फिर्ता बोलाएको हो । हाल जिम्मेवारीमा रहेका प्रधानाध्यापकहरूलाई यस अघि जिम्मेवारी पाएको विद्यालयमा जान नगरपालिकाले साउन २८ गते पत्राचार गरेको छ । “प्र.अ.नियुक्तका क्रममा कामकाज गर्न पठाइएकोमा उक्त नियुक्ति रद्द गरिएकाले तपाईँलाई पदाधिकार रहेकै विद्यालयमा काज फिर्ता गरिएको ब्यहोरा अनुरोध छ । आफू जिम्मा रहेको नगद जिन्सी मालसामान बरबुझारथ गरि रमाना लिई पदाधिकार रहेकै विद्यालयमा हाजिर हुन जानू होला ।” पत्रमा भनिएको छ ।



