आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भिडन्त आज राती हुँदै छ । जसमा उपाधिका लागि जारी विश्वकपमा अपराजित रहन सफल दुई टोली भारत र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजको बरबाडोसमा हुने हुने छ ।
सेमिफाइनलमा भारतले बलियो टोली इङल्याण्डलाई पाखा लगाउँदा दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकपको सेमीफाइनलमा प्रवेश गरेको टोली अफगानिस्तानलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् ।
भारत सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले सन् २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यस्तै उता दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि २०१४ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । त्यसअघि २००९ को विश्वकपमा पनि सेमिफाइनलमा पुगेको थियो । तर उ हाल सम्म फाइनल भने पुगेको थिएन् ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी–२० खेल भएका छन् । जसमा भारतले १४ खेलको नतिजा आफ्नो हात पार्दा दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलमा नतिजा आएको छैन ।
भारतका लागि जारी विश्वकपमा कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २ सय ४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १ सय ९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १ सय ७१ रन बनाएका छन् ।
त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्वाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३, कुलदीप यादवले १० विकेट लिएका छन् ।
त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्विन्टन डि ककले सर्वाधिक २ सय ४ रन बनाएका छन् भने डेभिड मिलरले १ सय ४८ रन बनाएका छन्। त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिच नोर्टजेले सर्वाधिक १३ विकेट लिएका छन् भने कागीसो रवाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।


