सुखडः अमेरिकामा जारीे आईसीसी टी २० विश्वकप २०२४ मा ओमानलाई सुपर ओभरमा हराउँदै नामिबियाले विजयी सुरुवात गरेको छ ।
समूह बी को पहिलो खेलमा नामिबियाले ओमानलाई हराउँदै तालिकामा २ अङ्क जोडेको छ । अन्तिम ओभरमा नामिबियाले ५ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा नामिबियाले ओमानलाई जितका लागि २२ रनको लक्ष्य दिएको थियो । तर, ओमानले १ विकेट गुमाउँदै १० रन मात्रै बनाउन सक्यो । नामिबियाका अनुभवी बलर डेविड विजाले आफ्नो अनुभवको भरपूर्ण फाइदा लिँदै मात्रै १० रन खर्चिए । त्यसमा पनि अन्तिम बलमा जिशान मकसुदले छक्का प्रहार गरेका थिए ।
ओमानले सुपर ओभरमा बिलाल खानलाई बलिङमा ल्याएको थियो । मेहरान खानले अन्तिम ओभरमा ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । तर, सुपर ओभरमा उनलाई ओमानले बलिङ दिएन । नियमित तीव्र गतिका बलर बिलाल खानलाई बलिङ दिएको थियो ।
सुपर ओभरमा नामिबियाका डेविड विजाले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गरे । तेस्रो बलमा दुई र चौथो बलमा एक रन जोडेका थिए । कप्तान जेराल्ड इरास्मसले पाँचौं र अन्तिम बलमा चौका हान्दै जम्मा २१ रन जोडेका थिए ।
यसअघि १ सय १० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा मध्य गतिका बलर मेहरान खानले मात्रै ४ रन खर्चेर २ विकेट लिएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
पहिलो बलमा मेहरानले जेन फ्रेलिंकलाई ४५ रनमा बोल्ड गरे । दोस्रो बल डट हुँदा तेस्रो बलमा जेन ग्रीन एलबीडब्लू आउट भए । मलान क्रुगरले चौथो बलमा एक रन लिए । डेविड विजाले पाँचौं बलमा दुई रन बटुलेका थिए । अन्तिम बलमा विजाले मिस गरेका थिए । तर विकेटकिपर नसिम खुसीले रन आउट गर्न चुकेपछि खेल बराबर भएको थियो । नाटकीय रुपमा मेहरानले खेल बराबरी गराएका थिए ।
नामिबियाका जेन फ्रेलिंकले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाए । निकोलस डेभिनले २४ र जेराल्ड इरास्मसले १३ रन बनाए । अन्य ब्याटस्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओमानका मेहरान खानले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बिलाल खान, आयन खान र अकिब इलियासले १÷१ विकेट लिए ।
त्यसअघि केन्सिङ्टन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमान १९ ओभर ४ बलमा १ सय ९ रनमा अल आउट भएको थियो । ओमानका खालि कैलले ३९ बलमा १ चौका र १ छक्कासहित ३४, जिशान मकसुद २२ र आयन खानले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले इनिङको सुरुवाती दुई बलमा कश्याप प्रजापति र अकिब इलियासलाई एलबीडब्लू आउट गरेपछि ओमानले कुनै पनि समय राम्रो गर्न सकेन ।
नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए । डेविड विजाले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । जेराल्ड इरास्मसले २ र बेनार्ड स्कोल्ट्जले १ विकेट लिए ।
यस्तै आज नै हुने अर्को खेलमा समूह डी अन्तर्गत रहेका दक्षिण अफ्रिका र श्रीलङ्का भिड्ने भएका छन् । खेल नेपाली समयअनुसार राती ८ः१५ बजेदेखि सुरु हुनेछ ।


